– अंकुश कुँवर
काठमाडौं, १२ माघ । अहिले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक चर्चाको विषय बनेको छ । संसदमा दर्ता भएपनि पारित हुन नसकेको संशोधन विधेयकका चार बुँदामध्ये एक बुँदामा प्रदेश नम्बर ५ टुक्राइएको छ ।
संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनु अगाडिनै विरोधको आवाज उठेको अवस्थामा प्रस्ताव दर्ता भएपछि यसको व्यापक विरोध भइरहेको छ । प्रदेश टुक्राउने भन्दै संसदमा प्रस्ताव दर्ता भएपछि प्रदेश नम्बर ५ का जनता आन्दोलनमा उत्रेका छन् ।
अखण्ड ५ नम्बर प्रदेशविरुद्ध परेको प्रस्तावविरुद्ध सत्ता बाहिर रहेका दलले मात्रै नभई सत्तामा सामेल भएका दलका केही नेताहरुले पनि विरोध गरेका छन् । ५ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका अधिकांश नेताहरु यो प्रस्तावको विपक्षमा छन् ।
बिचल्लित बालकृष्ण खाँड
सोही ठाउँबाट प्रतिनिधित्व गरेर सरकारमै सहभागिता जनाएका दलका नेताहरु पनि यसको विपक्षमा छन् । तर, सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने तथा रक्षामन्त्री बालकृष्ण खाँड भने प्रदेश टुक्राउने वा नटुक्राउने विषयमा विचल्लित छन् । उनले अहिलेसम्म दोधारे कुरा गर्दै भाषण ठोकिरहेका छन् ।
खाँड दोधारे कुरा गर्दै जनतालाई अन्यौलमा राख्दै आएका छन् भने कहिल्यै आफ्नो पार्टी र सरकारको निर्णय विपरित जान नसक्ने भन्दै भाषण ठोक्दै आएका छन् । यसले उनको राजनीतिक जीवनमा असर पक्कै पुग्नेछ । उनलाई कुन स्थानमा राख्ने भन्ने निर्णय त आगामी दिनमा जनताले नै गर्नेछन् ।
संसदमा प्रस्ताव पेश हुनुभन्दा अगाडि प्रदेश टुक्राउने प्रस्तावविरुद्ध कडा रुपमा प्रस्तुत भएका खाँड अहिले प्रदेश टुक्रेमा पनि खासै फरक नपर्ने भन्दै भाषण दिन थालेका छन् । उनले त्यो बेला क्याविनेटमै यस्तो प्रस्ताव पास भए मन्त्री पद समेत त्याग्ने उद्घोष समेत गरेका थिए ।
केही समय अगाडि खाँडले कपिलवस्तुमा आयोजित एक समारोहमा पार्टी र सरकारभन्दा जनता ठूलो हो भन्दै प्रदेश टुक्राउने सरकारको प्रस्ताव गलत भएको बताएका थिए । पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले त्यो बेला पनि प्रस्तावविरुद्ध आवश्यक परे मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेको खाँड अहिले भने कहिल्यै व्यक्तिगत त कहिल्यै पार्टीगत धारणा भन्दै ५ नम्बर प्रदेशका बारेमा दुईथरी भनाई राख्दै आइरहेका छन् ।
उनले बुधबार मात्रै दाङको तुलसीपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा व्यक्तिगत धारणा भन्दै पहाडी जिल्लालाई प्र्रदेश नम्वर ५ मा नै राख्नुपर्ने धारणा राखे ।
तर, मन्त्री खाँडले पार्टी तथा सरकारले गरेको कामको समर्थन गर्छु भन्न छोडेनन् । नेपाली काँँग्रेस सामेल भएकै सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको छ । उनले आफू कांग्रेसको सच्चा सिपाही भएकाले पार्टीको उद्देश्य विपरित जान नसक्ने ठोकुवा समेत गरे ।
संविधान संशोधनको विषयमा आफ्ना कुरा फेर्दै आएका नेता खाँडको दोधारे कुराले ५ नम्बर प्रदेशका जनता उनीविरुद्ध रुष्ट बनेका छन् । प्रदेश टक्राउन परेको संशोधन प्रस्तावविरुद्ध केही समय अगाडि बुटवलमा भएको विरोध सभामा सम्बोधन जान लागेका काँग्रेसकै नेता चन्द्र भण्डारीलाई रोक्ने परपञ्च पनि गरेका थिए ।
खाँड सहभागी भएकै कार्यक्रमहरु पनि उनले दिएका अभिव्यक्तिको विरोध हुने गरेको छ । सीमांकन हेरफेरमा जनताको असहमति आउनु स्वभाविक हो पनि भन्ने तर, जनताकै भावना विपरित पार्टी तथा सरकारले ल्याएको प्रस्ताव विरुद्ध उनी उभिन सकेनन् ।
अडिग चन्द्र भण्डारी
संविधान संशोधनको कुरा उठ्ने वित्तिकै त्यसविरुद्ध खरो रुपमा उत्रिएका काँग्रेसकै नेता चन्द्र भण्डारी भने अहिलेसम्म सोही स्थानमा अडिग छन् । उनी कत्तिपनि विचल्लित नभई आफ्नै पार्टी सहभागी भएको सरकारको विरोध गरिरहेका छन् ।
काँग्रेसका प्रभावशाली नेता भण्डारी देश र जनताको नाममा आफ्नो राजनीतिक यात्रालाई ख्याल नगरी जनतामाझ गएका छन् ।
उनी अहिले संविधान संशोधनविरुद्ध आयोजना हुने विभिन्न जनसभामा सहभागी हुँदै प्रदेश नम्बर टुक्राउने प्रस्तावविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका छन् । पार्टी भन्दा माथि उठेर संविधान संशोधनविरुद्ध उत्रेका नेता भण्डारीले संशोधन प्रस्ताव पारित भए पार्टी र सांसद पद त्याग्ने घोषणा समेत गरेका छन् ।
जनताभन्दा ठूलो पार्टी नहुने भन्दै उनले लैनचौरस्थित भारतीय राजदूताबासबाट निर्देशित भएर सरकार चलिरहेको समेत आरोप लगाउँदै आएका छन् । काँग्रेसका प्रभावशाली नेता समेत रहेका भण्डारी देश र जनताको नाममा आफ्नो राजनीतिक यात्रालाई ख्याल नगरी जनतामाझ गएका छन् ।
एमालेका दर्जनौँ नेता, कार्यकर्ताले आफ्ना नेताहरुलाई भन्दा कांग्रेस नेता भण्डारी र अर्घाखाँचीबाट प्रतिनिधित्व माओबादी केन्द्रका नेता टोपबहाुदर रायमाझीलाई जनताको पक्षमा बोलेकोमा धन्यवाद दिँदै स्वागत गरिरहेका छन् ।
नेता भण्डारी र खाँडलाई जनप्रतिनिधिका रुपमा जनताले चुनेर पठाएका हुन् । तर, एकै ठाउँबाट चुनिएका व्यक्तिहरुबीच यति धेरै भिन्ता देखिएको छ । एउटै पार्टीमा रहेका नेताहरुले आफ्नो क्षेत्रका जनताको चाहना बुझ्नुपर्छ ।
सोही उद्देश्यका साथ नै उनीहरुलाई जनताले जिताएर पठाएका हुन् । र, नेता भण्डारीले आफ्नो क्षेत्रका बहुसंख्यक जनताको भावनाअनुसार नै संविधन संशोधन विरुद्ध आवाज उठाइरहेका छन् । तर, मन्त्री खाँड भने त्यसको ठिक विपरित कित्तामा उभिएका छन् ।
खाँड दोधारे कुरा गर्दै जनतालाई अन्यौलमा राख्दै आएका छन् भने कहिल्यै आफ्नो पार्टी र सरकारको निर्णय विपरित जान नसक्ने भन्दै भाषण ठोक्दै आएका छन् । यसले उनको राजनीतिक जीवनमा असर पक्कै पुग्नेछ । उनलाई कुन स्थानमा राख्ने भन्ने निर्णय त आगामी दिनमा जनताले नै गर्नेछन् ।
सीमांकनको विवाद समाधान गर्ने नाममा अहिले आएको संशोधन प्रस्ताव जनताको हितमा छैन । यसकोविरुद्ध जनमत थपिँदै छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ध्यान दिनुपर्छ ।
विवाद नै नभएको प्रदेशमा विभाजन ल्याउन खोजिँदैछ । तराई र पहाडका जनता मिलेर बस्छु भनिरहेका बेला संविधान संशोधनमार्फत प्रदेश टुक्राउनु कतिपनि उचित होइन् । त्यहाँको जनताको अभिमत लिनुपर्छकी पर्दैन ? यतिबेला पार्टी भन्दा पनि देश र जनता ठूलो हो ।

















प्रतिक्रिया