४ मंसिर २०८३, शुक्रबार

प्रहरी अपराधीका लागि त्रास बन्नुपर्छ : महानिरीक्षक अर्याल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, १२ माघ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीले अब जनताको लागि आश र अपराधीका लागि त्रास बन्नुपर्ने बताएका छन् ।

सिरहाको कर्जन्हास्थित प्रहरी चौकीको समुद्घाटन सभालाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले जनताका लागि त्रास नबन प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘अब जनतामा चेतनाको स्तर निकै बढिसकेकोले सोही बमोजिम प्रहरीले पनि आफ्नौ कार्य गर्ने शैली परिवर्तन गर्नुपर्छ ।’

प्रहरी महानिरीक्षक अर्यालले जनताले सहयोग नगरे प्रहरीले केहि गर्न नसक्ने बताउँदै प्रहरी र जनताबीचको घनिष्टता बढाउनुपर्नेमा जोड दिए । उनले अपराध नियन्त्रण गर्न प्रहरीलाई जनताले पूर्ण रुपले सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले प्रहरी कार्यालयसम्म आइपुगेका कुनै पनि घटनाका दोषीलाई कानून बमोजिम कारबाही गर्न प्रहरी इन्जार्चहरुलाई निर्देशन दिए । उनले भने, ‘प्रहरी कार्यालय घटना मिलाउने अर्थात् पञ्चायत गर्ने थलो होइन्, दोषीलाई कानून बमोजिम कारबाही गर्ने ठाउँ हो ।’

नवनिर्मित प्रहरी चौकी कर्जन्हाका लागि जग्गा दाताद्धय स्थानीय केशव प्रसाद साह र जनसेवा उच्च माध्यमिक विद्यालयका प्र.अ. लक्ष्मी हाइलाई प्रहरी महानिरीक्षक अर्यालले दोसल्ला ओढाएर सम्मान समेत गरे । यस्तै भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने गाउँबासीलाई धन्यवाद दिए ।

गाडी उपलब्ध गराइदिन आग्रह

कार्यक्रमलाई सम्बोधनका क्रममा सभासद डा. विरेन्द्र महतोले प्रहरी चौकीका लागि एउटा गाडी उपलब्ध गराउन प्रहरी महानिरीक्षक अर्यालसँग आग्रह गरे । उनले प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयमा बढोत्तरी गर्न समेत माग गरेका छन् ।

पाँच गाविसलाई समेटेर कर्जन्हा केन्द्र हुनेगरी गाउँपालिका बनेको र बाटो एकदमै जिर्ण रहेकोले शान्ति सुरक्षा प्रदान गर्न प्रहरीलाई समस्या नहोस् भनेर एउटा गाडी जसरी भएपनि उपलब्ध गराउनुपर्ने सभासद डा. महतोको भनाई थियो ।

५४ लाख ३९ हजारको लागतमा भवन

डा. महतो उक्त प्रहरी चौकी कर्जन्हा भवन निर्माणका लागि रु. ५ लाख आर्थिक सहयोग गरेका छन् । डा. महतोलगायत गाउँका अन्य सर्वसधारण गरी १० लाख ९९ हजार र नेपाल सरकारबाट प्राप्त ४३ लाख ४० हजार गरी कूल ५४ लाख ३९ हजारको सहयोगमा प्रहरी चौकी कर्जन्हा निर्माण भएको निर्माण समितिका संयोजक केशव प्रसाद साहले जानकारी दिए ।