महेन्द्रनगर, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ’ नियुक्त भएका छन् ।
राप्रपा केन्द्रीय सचिवालयका अनुसार लख्खाभाइ प्रदेश नम्बर ७ को संयोजकमा नियुक्त भएका हुन् । अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल (भारत)मा छात्र संघका अध्यक्ष समेत रहिसकेका छन् । उनी उक्त विश्वविद्यालयमा छात्र संघको अध्यक्ष हुने पहिलो नेपाली समेत हुन् ।
संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका लख्खाभाइले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेका थिए । सुरुमा सुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका लख्खाभाइकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता भईचुनाव लडेका थिए ।
पछिल्लो समय तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उनी तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सह–संयोजक बनेका थिए । गत मंसिरमा दुवै राप्रपा एकताभए पछि माघ १० गते बसेको उच्च कार्य सम्पादन समितिले लख्खाभाइलाई सात नम्बर प्रदेशको संयोजक नियुक्त गरेको राप्रपा केन्द्रीय सदस्य तथा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष हेमबाबु लेखकले जानकारी दिएका छन् ।












प्रतिक्रिया