काठमाडौं, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग स्थानीय निर्वाचनका विषयमा छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह ४ बजे हुने संयुक्त छलफलमा स्थानीय निर्वाचन र संसदमा टेबुल भएको संविधान संशोधनका विषयमा परामर्श हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूले मधेसी मोर्चालाई छलफलका लागि बोलाउनु भएको छ’, झाले भने, ‘छलफलको विषय भनिएको छैन । संभवत स्थानीय निवार्चन र संशोधन विधेयकमाथिको परिमार्जनमा परामर्श हुन सक्छ ।’
आजको छलफलमा मधेसी मोर्चाले संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गराउन आग्रह गर्ने रामसपाका महासचिव झाले बताए ।
‘सरकारले संशोधन प्रस्तावलाई संसदमा टेबुल गरे पनि छलफलमा लगेको छैन । यसलाई पारित गराउनेतिर हाम्रो दबाब रहन्छ’, उनले भने ।
प्रधानमन्त्री दाहालले यसअघि कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग स्थानीय निर्वाचनका विषयमा परामर्श गरिसकेका छन् । परामर्शका क्रममा एकसाताभित्र स्थानीय तहको निर्वाचन मिति तोक्ने सहमति भएको समाचार बाहिर आएका थिए ।











प्रतिक्रिया