४ मंसिर २०८३, शुक्रबार

‘विवादित वर्ण विन्यास खारेज नभए सरकार नै ढल्छ’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १० माघ । पछिल्लो समय सरकारले प्रस्ताव गरेको वर्ण विन्यासलाई तत्काल खारेज गरी पुरानै वर्ण विन्यास लागु नगरेमा त्यसको परिणाम डरलाग्दो हुने मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सन्जालले चेतावनी दिएको छ ।

आइतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी विवादित वर्ण विन्यासलाई खारेज गर्ने कुरामा अझै पनि राज्य पक्ष आलटाल गरिरहेको जनाउदैं सन्जालका अध्यक्ष प्रा.डा. खगेन्द्र लुइटेलले भने– “अहिले केही विखण्डनकारीहरुले भाषाको विखण्डन गर्नेगरी नेपाली भाषा मात्र होइन देवानागीरी लिपी नै विगार्नेगरी काम गरिरहेका छन् । त्यसको विरोधमा हामीले केही वर्ष यता ठूलो संघर्ष पनि गरिरहेका छौं । जसको फलस्वरुप पूर्व शिक्षामन्त्री सहित त्रिभुवन विश्वविद्यालयका विषयगत समिती पनि सो गल्ती सच्चाउन तयार भएको, नेपाल प्राज्ञ प्रतिष्ठान पनि तयार भएको अवस्थामा फेरी राज्यको एउटा पक्ष तत्काल सच्चाउन आलटाल गरेकोप्रति हाम्रो गम्भीर आपत्ति छ । यदि यस्तै आलटाली कायम भयो भने हामी कडा संघर्ष गर्न बाध्य हुनेछौं ।”

अध्यक्ष प्रा.डा लुइटेलले पत्रकार सम्मेलनमा केही गलत प्रवृतिका मान्छेहरु जसले मुलुक नै विखण्डन होस् भन्ने चाहन्छन् तीनिहरु जो बाह्य तत्वबाट निर्देशित छन् तिनीहरुको अग्रसरतमा वर्णविन्यासलाई विगारी नेपाली भाषालाई कमजोर बनाउने प्रयास भएको आरोप लगाए ।

उनले सो सम्बन्धमा अहिले नेपाल प्राज्ञ परिषदका कुलपति गंगाप्रसाद उप्रेती, पुर्व शिक्षामन्त्री दिननाथ शर्मा, प्रदीप नेपाल, प्रदीप ज्ञवाली लगायतका पुर्व शिक्षामन्त्रीहरु, नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिका अध्यक्ष प्रा.डा. पारसमणि भण्डारी, त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रिय विभागका नेपाली विषय समितीका अध्यक्ष प्रा.डा. देवीप्रसाद गौतम, त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका प्राध्यापकहरु लगायतका नेपाली भाषाविद्हरुले लिखित रुपमा शिक्षा मन्त्रालयले २०६९ सालमा लागु गरेको नेपाली भाषाको वर्णविन्यास सम्बन्धी नियम तत्काल खारेज गर्न माग गर्दा पनि शिक्षामन्त्रालयले आनाकानी गरेकोप्रति आक्रोस व्यक्त गरे ।

पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत शब्दकोष (२०७२) नवौं संस्करण खारेज भइसकेको, नेपाली भाषाको वर्णविन्यास सम्बन्धी नियम अमान्य ठानी देशैभर पत्राचार गरेको अवस्थामा पनि सो नियमलाई लागु गरिरहन चाहनु बाह्य तत्वको प्रभाव भएको अध्यक्ष प्रा.डा. लुइटेलले दाबी गरे ।

सोही कार्यक्रममा सन्जालका उपाध्यक्ष तथा पश्चिम क्षेत्र संयोजक प्रा.डा. कपिलदेव लामिछानेले त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग र विषयसमितीले मात्रै नभएर सम्पुर्ण देशैभरका प्राध्यापक, शिक्षक, नेपाली भाषाप्रेमी, देवानागिरीलिपी प्रयोगकर्ताले विरोध गर्दा समेत शिक्षामन्त्रीले कानमा तेल हालेर बस्नु अत्यन्तै विडम्बनापुर्ण भएको जनाए ।

पाल्पा, बुटवल क्षेत्रमा वर्णविन्यास सम्बन्धमा बृहत छलफल सकेर भैरहवा आएपछि सन्जालले सरकारले तत्काल सो नियम खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक अनिल झा, विदुषी लिला लुइटेल, सन्जालका कोषाध्यक्ष सहप्रा.डा. नारायण गैरे, नेपाली भाषाका ज्ञाता तथा साहित्यकारहरु सहभागी थिए ।