काठमाडौं । अपर्झट रगत चाहिए उपत्यकामा धेरैले सम्भ्किने नाम हो, चन्द्ररमण पराजुली। दुर्घटनाका घाइते हुन् वा शल्यक्रिया गर्नुपर्ने बिरामी, परिचित हुन् वा अञ्जान– उनी जसलाई रगत चाहिए पनि झर्को नमानी उपस्थित भइदिन्छन्। ब्लड गु्रप मिले आफैं दिन्छन्, नभए रक्तदाताहरूको समूहबाट मिल्दो रगत जुटाइदिन जतिसक्दो पसिना बगाउँछन्।
त्यही भएर २७ वर्षदेखि नियमित रक्तदान गर्दै आएका उनलाई राजधानीमा रगत अभाव हुँदा भ्याइनभ्याई हुन्छ। बिहीबारै उनले १ सय ११ औं पटक रक्तदान गरे।
‘धेरैतिरबाट फोन आउँछ, सबैलाई अप्ठ्यारो परेको हुन्छ, म यो–ऊ नभनी मिल्ने अवस्था छ भने दिनरात दौडिन्छु,’ लैनचौर निवासी पराजुलीले बिहीबार भने, ‘मिलेसम्म आफैं दिन्छु, नभए अरूलाई भनेर पनि रक्तदान गराउँछु।’
प्रेमसागर कर्माचार्य अर्को यस्तो नाम हो जसले हालसम्म १ सय ३७ औं पटक रक्तदान गरिसकेका छन्। रक्तदाता स्वयंसेवी समाजका अध्यक्ष कर्माचार्य नेपालमै सबभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। उनले रक्तदानसम्बन्धी चेतना फैलाउन ठूलै भूमिका खेलेका छन्। ‘ब्लड बैंकमा रगत पाइएन, जसरी पनि मिलाइदिनुपर्योु भन्दै दैनिकजसो फोन आउने गरेको उनी सुनाउँछन्।
राजधानीमा पराजुली र कर्माचार्यजस्ता स्वस्फुर्त रक्तदान गर्नेहरूको संख्या थुप्रै छ। यति हुँदाहुँदै सधैंजसो रगत अभाव हुने गरेको छ। केन्द्रीय रक्तसञ्चार केन्द्र ९ब्लड बैंक० मा दैनिकजसो लाग्ने भीडले यसको पुष्टि गर्छ।
रक्तदान गर्न चाहनेहरू बढे पनि ब्लड बैंकलाई प्राविधिक रूपमा दक्ष तुल्याउन र व्यवस्थापन सुधार गर्न नसक्दा अभाव जारी रहेको कर्माचार्य बताउँछन्। ‘रक्तदान कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्न नसक्नुले अभाव सधैंको समस्या बनेको छ,’ उनले भने।
केन्द्रकी प्रमुख डा. मनिता राजकर्णिकारका अनुसार उपत्यकामा विशेषगरी जेठदेखि साउन अन्तिमसम्म र दसैं–तिहारको समयमा रगत अभाव बढी हुन्छ। यस अवधिमा विभिन्न संघ–संस्थाको सहयोगमा जसोतसो रगत पुर्याउन सकिरहेको उनले बताइन्। केन्द्रको व्यवस्थापनमा केही कमजोरी रहे पनि प्रविधि र रक्तदान कार्यक्रमहरू कम हुनुले नै अभावको समस्या देखिने गरेको उनको भनाइ छ। नागरिक दैनिकबाट











प्रतिक्रिया