
काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपनेता रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विधेयक फिर्ता लिने हो वा नलिने सरकारको कुरा भएपनि अब त्यसलाई छोडेर निर्वाचनमा जानुपर्ने बताए ।
उनले संविधान संशोधनलाई छाडेर तत्काल स्थानीय तहको निर्वाचनमा जानुपर्ने र संविधान कार्यान्वयनमा जुट्नुपर्ने धारणा राख्नुभयो । रायमाझीले संविधान कार्यान्वयन नभए मुलुक पश्चगमन र प्रतिगामी दिशातर्फ जाने खतरा समेत औंल्याए ।
आफू संविधान संशोधनको विपक्षमा नरहेको भएपनि संशोधनमा राष्ट्रिय सहमति आवशयक हुने बताए । राष्ट्रिय सहमति भएमात्रै देशले गति लिने बताए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले ५ नम्बर प्रदेश विभाजन गर्नेगरि आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएको जिकिर गरे । जेठभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने र त्यसका लागि मधेशी मोर्चाले पनि एजेण्डा सहित चुनावमा जानुपर्ने उनले बताए ।
उनले संशोधन विधेयक फेल भएपछि निन्याउरो मुख लगाएर जानुभन्दा मोर्चाले आफ्नो एजेण्डासहित चुनावमा जाँदा नै उत्तम हुने उनको भनाई थियो ।











प्रतिक्रिया