२८ आश्विन २०८३, बुधबार

नेपाली गौरव : यसरी विश्वकै सफल अर्थशास्त्री बने पराग पाठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parag_Pathak

गौतम दाहाल

बाल्टिमोर, अमेरिका । डाक्टर पराग पाठक यतिबेला एकाएक चर्चाको शिखरमा छन् ।  चिन्ने, जान्नेहरु उनलाई बधाई दिइरहेका छन् । उनलाई नचिन्नेहरु को होला त्यो व्यक्ति भन्ने कौतुहलमा छन् । हुनपनि हो उनी लो-प्रोफाइलमा रहने हाइ-प्रोफाइल पर्सनालिटी हुन् । उनले आफुलाई सार्वजनिक रुपमा शायदै परिचित गराएका होलान् । तर आज विश्वले उनलाई खोजेर उनको पहिचान उँचो बनाइदिएको छ । गत अगष्टको अन्तिम साता अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वका २५ उत्कृष्ठ युवा अर्थशास्त्रीहरुको नाम सार्वजनिक ग-यो र भन्यो-‘यी यस्ता उज्ज्वल भविश्य भएका युवा अर्थशास्त्रीहरु हुन्, जसले भावी विश्व अर्थतन्त्रलाई नै एउटा आकार दिन सक्छन्।’ आईएमएफले सार्वजनिक गरेको ४५ वर्षभन्दा कम उमेरका २५ जना प्रभावशाली अर्थशास्त्रीहरुको यो सूचीको १९ औं नम्वरमा छन् ३४ वर्षीय यिनै युवा डाक्टर पराग पाठक ।

सूची सार्वजनिक भएपछि एकाएक उनको चर्चा चुलियो,खोजीनिधि भयो । आइएमएफले विश्वका प्रभावशाली अर्थशास्त्री भनेर सार्वजनिक गरेको सूचीमा पाठकलाई अमेरिकन भनेर परिचय दिएको थियो । तत्पश्चात उनको बारे झनै चासो र कौतुहल बढ्यो । को होला नेपाली नामको यो अमेरिकन ? भन्ने जिज्ञासा परागलाई नचिन्नेहरुका लागि स्वाभाविक थियो ।

को हुन् आखिर पराग ?

‘म नेपाली हुँ, मेरी श्रीमती नेपाली हुन्, मेरो छोरो नेपाली हो, अनि मेरो बुवा मम्मी सबै नेपाली नै हो’- विश्वका प्रभावशाली युवा अर्थशास्त्रीको सूचीमा रहेका डाक्टर पराग पाठकसंग टेलिफोनमा कुरा गर्ने क्रममा नेपाली भाषाको मीठो लवजमा उनले एकै वाक्यमा आफ्नो परिचय दिए । उनले भने- ‘मलाई गौरव लाग्छ नेपाली भनेर चिनाउनुमा, तर मेरो परिचयसहितको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी एमआईटीको पेजमा राष्ट्रियता नखुलाई राखेको रहेछ, शायद त्यही भएर होला कतिलाई कौतुहल भएको पनि ।’ यसरी प्रष्ट पार्दै उनले भने- ‘म अमेरिकाको न्यूयोर्कमा जन्मे पनि मेरो पुर्ख्यौली नेपाल नै हो, मेरो बुवा डिल्लीबजारको पुरानो वासिन्दा हो, अनि मेरो मम्मी ढोकाटोलको हो । मेरो मावली अझै ढोकाटोलमा नै छ । मैले विवाह पनि नेपाल नै गएर गरेको हुँ ।’ यसरी नेपाली हुनुको गौरव गर्ने परागले आज आफ्नो क्षमताको पराग सिञ्चन गर्दै विश्व जगतमा आफुलाई स्थापित गराएका छन् । जसलाई नेपालले आफ्नो गौरवको रुपमा लिन सक्नुपर्छ । उनी नेपाली मूलको पहिलो यस्तो भाग्यमानी अर्थशास्त्री पनि हुन्, जुन सूचीमा यस अघि कुनै नेपाली परेको नै थिएन । बिश्वभरका अर्थशास्त्री र जर्नलका सम्पादक र पाठकहरुको प्रतिक्रियाका आधारमा यो सूची तयार गरिएको हो । आईएमएफले भनेको छ -‘आगामी दशकमा बिश्व अर्थतन्त्रबारे बुझ्न ४५ बर्षभन्दा कम उमेरका यी अर्थशास्त्रीको भूमिका सवैभन्दा प्रभावशाली हुनेछ ।’ यी अर्थशास्त्री अहिले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी एमआईटीमा प्रोफेसरका रुपमा कार्यरत् छन् । प्रभावशाली अर्थाशास्स्त्रीको सूचीमा डाक्टर पाठकको परिचयमा आइएमएफले भनेको छ-‘ एमआईटीमा माइक्रो इकोनोमिक्समा योगदान गरेका ३४ वर्षीय अमेरिकन । उनको अनुसन्धानको केन्द्र बजार निर्माण, शिक्षा र ग्रामीण अर्थशास्त्र हो ।’

यति छोटो परिचय डाक्टर पाठकका लागि अपुरो नै हुन्छ । यही ठानेर उनको बारे अझै धेरै जान्ने प्रयास ग-यौं हामीले ।

अगष्ट १ तारिख अपडेट गरिएको उनको बायोडाटा नै छ पेज लामो छ । एमआईटीमा अर्थशास्त्रको प्राध्यापकको रुपमा कार्यरत् उनले प्रसिद्ध हार्भर्ड विश्वविद्यालयबाट सन् २००७ मा पीएचडी गरे र सन् २००८ देखि नै एमआईटीमा अध्यापन गराउन थाले । पाठक एमआईटीमा स्थापित स्कूल ‘इफेक्टिभनेस एण्ड इनइक्वालिटी इनिसेटिभ’को संस्थापक निर्देशक मध्ये एक हुन् । पाठकले सन् २०१२ मा ह्वाइट हाउसले प्रदान गर्ने प्रेसिडेन्सियल अर्ली करियर अवार्ड समेत प्राप्त गरेका छन् । यस्तो अवार्ड विज्ञान र इन्जिनियरिंग अध्ययन गरी करिअर सुरु गरेका युवा व्यक्तित्वलाई प्रदान गरिन्छ । उनले कैयौं जर्नलहरुमा सोध, अनुसन्धानमूलक लेखहरु लेखेका छन् भने अमेरिकन इकोनोमिक रिभ्यू र इकोनोमेट्रिका (अर्थशास्त्रसंग सम्बन्धित जर्नल) को एशोसियट एडिटर भएर पनि काम गरेका छन् ।

Parag-Pathak-Family

पारिवारिक चिनारी

डाक्टर पाठक अमेरिकाको नेपाली समाजका सामाजिक अगुवाको रुपमा परिचित दम्पतिका एक्ला छोरा हुन् । उनका बुवा कमल पाठक अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एशोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) का पूर्व अध्यक्ष हुन् भने आमा ज्योति पाण्डे पाठक पनि अमेरिकाको नेपाली समाजमा सामाजिक कार्यकर्ताको रुपमा परिचित छिन् । सन् सत्तरीको दशकको पूर्वार्द्धमा कमल पाठक मेडिकल तालिमको क्रममा डिसी आएका थिए । श्रीमतीसहित आएका पाठक दम्पत्तीको डिसी बसाइकै क्रममा जेठी छोरी रचनाको जन्म भयो । पछि उनीहरु डिसीबाट न्यूयोर्क सरे, जहाँ सन् १९७६ मा दोश्रो सन्तानको रुपमा छोरी सपनाको जन्म भयो भने न्यूयोर्कमै सन् १९८० मा पाठक परिवारको तेश्रो सन्तानको रुपमा परागको जन्म भयो । न्यूयोर्कबाटै दिदीहरुसंगै परागले पनि पव्लिक स्कूलबाटै विद्यालय तहको अध्ययन पुरा गरेर सन् १९९८ मा एकैचोटी उच्च शिक्षाका लागि बोष्टन हानिए । जहाँ उनले विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयबाट उच्च शिक्षा लिने अवसर पाए । उनले मेडिकल स्कूलमा अध्ययनरत् रुमा राजभण्डारीलाई पनि भेटे । उनै रुमा सन् २००६ देखि परागकी जीवन संगिनी बनेर साथ दिइरहेकी छिन् । अहिले पराग र रुमाका एक सन्तानको रुपमा एक वर्षे वालक अभिषेक पनि छन् । परागका अभिभावक बुवाआमा दुवै जना न्यूयोर्कमै बस्छन्। पराग भने आफ्नो परिवारसंग बोष्टनमा बस्दै आइरहेका छन् । ‘मेरो त बिहे पनि नेपालमै भएको हो सन् २००६ को जनवरीमा, बिहेको पूर्व निर्धारित साइतको दिनमा नेपाल बन्द भयो, अनि त्यो मिति नै सारेर बिहे गरेको’ परागले त्यो क्षण सम्झदै भने ।

परागका दुई दिदी मध्ये जेठी दिदी रचना न्यूयोर्कको म्यानहाटन डिष्ट्रिक्ट एटर्नीको रुपमा कार्यरत छन् भने कान्छी दिदी सपना फिजिसियन ।

‘आजसम्म पाँच पटक नेपाल गएको छु, भविश्यमा पनि गएर घुम्ने विचार छ, किनकि मलाई नेपालको धेरै ठाउँ मन पर्छ ‘- परागले आफ्नो नेपाली मूलको जानकारीसंगै नेपाल गएका बखत घुमेका ठाउँहरु सम्झदै भने, ‘हो, म नेपाललाई धेरै माया गर्छु, अन्तिमपटक म काठमाडौंबाहिर अन्नपूर्ण बेस क्याम्पसम्म पुगेको छु, घोडेपानी, पुनहिलसम्म पुगेको छु  हिंडेर, मेरो ससुरा बुवा र श्रीमतीसहित । राजधानीको आफ्नै रमाइलो छ,भोटेकोशी नदीमा दुई दिन रयाफ्टिङ्गमा गएको छु | फेरि मौका मिल्यो भने म नेपाल घुम्न जानेछु |’

यो सूचीमा परेका २५ मध्ये अधिकांश अमेरिकी अर्थशास्त्रीहरु नै छन् । त्यसमा पनि भारतीय मूलकासहित हार्भर्डमा प्राध्यापनरत ६ जना छन् । यसैगरी एमआइटीका डाक्टर पाठकसहित पाँच,प्रिन्सटनका दूइ,युनिभर्सिटी अफ सिकागोका तीन,न्यूयोर्क युनिभर्सिटीका दुई,युनिभर्सिटी अफ क्यालिफोर्निया र युनिभर्सिटी अफ कोलम्बियाका एक एक जना,युनिभर्सिटी अफ स्टानफोर्डका दुई र पिटर्सन इन्स्टिच्यूटका एक र अमेरिका बाहिर लण्डन बिजनेश स्कूल र पेरिस स्कुल अफ इकोनोमिक्सका एक /एक जना छन् । ४५ वर्षभन्दा कम उमेरका प्रभावशाली अर्थशास्त्रीहरुको यो सूचीमा सबैभन्दा बढी उमेरका ४१ वर्षीय बेलायती मूलका निकोलस ब्लुम र सबैभन्दा कम उमेरमा ३१ वर्षीय रसियन मूलका ओलेग इत्स्खोकी र र अमेरिकन अर्थशास्त्री मेलिस्सा डेल छन् । सूचीमा अमेरिकाका अलावा फ्रान्स, भारत, अष्ट्रेलिया, क्यानडा, बेलायत, रुस र अर्जेन्टिनी मूलका अर्थशास्त्रीहरु समेत छन् ।

लेखक ग्लोब नेपालका सम्पादक हुन् ।