
काठमाडौं, ३ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको रिपोर्टले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा खैलाबैला भएको छ ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा सोमबार बसेको बैठकमा रावलको रिपोर्टको चर्चा भएको हो । शीर्ष नेताहरुले रिपोर्ट कहाँ बाट आयो भन्दै गम्भीर छलफल गरेका थिए । र, बैठकले रिपोर्टलाई झुटो भनेको छ ।
बैठकमा सदभावनाका अध्यक्ष राजेन्द्र महतो भीम रावलप्रति निकै आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतको भनाई छ । ‘हुँदै नभएको कुरा गरेर हामीलाई बदनाम गर्न खोज्ने भन्दै उहाँ (महतो) आक्रोशित रुपमा प्रस्तुत हुनुभयो,’ एक नेताले भने ।
केही दिनअघि राष्ट्रपति विद्या भण्डारीले शीतलनिवासमा बोलाएको प्रमुख पाँच दलको बैठकमा पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले नेपालमा हिंसात्मक संघर्ष सुरु गर्न अन्यत्र सैन्य तालिम दिने काम भइरहेको विवरण प्रस्तुत गरेका थिए । उक्त रिपोर्टपछि दलका नेताहरू स्तब्ध बनेका थिए ।
बैठकपछि मोर्चाद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा केही दलले सरकारलाई झुठा सूचना दिई राज्यलाई नै दिग्भ्रमित गर्ने षडयन्त्र गरेका छन् । यसको हामी घोर निन्दा गर्छाै ।’
मोर्चाले रावलको नाम उल्लेख नगरीकनै उनीमाथि कारवाहीको माग समेत गरेको छ ।
न्यायाधीश नियुक्तिमा आपत्ति
बैठकले मोर्चाको तर्फबाट बुझाइएका सहिदको सूचीमध्ये सहिद घोषणा गर्न बाँकी रहेकालाई अविलम्ब सहिद घोषणा गर्न, आन्दोलनको क्रममा राज्य पक्षद्वारा आन्दोलनकारी माथि लगाइएका सम्पूर्ण मुद्दा अविलम्ब फिर्ता गर्न, बाँकी रहेका घाइतेको उपचार खर्च प्रदान गर्न माग गरेको छ ।
त्यस्तै, न्याय परिषद्ले हालै गरेको न्यायाधीश नियुक्तिको सिफारिस असमावेशी र असंवैधानिक भएको भन्दै मोर्चाले उक्त निर्णयविरुद्ध नेपाल बार एसोसिएसनका विभिन्न शाखालगायत अन्य सरोकारवालाद्वारा गरिने सबै प्रकारको विरोध कार्यक्रममा ऐक्यबद्धता रहने निर्णय गरेको छ ।
बैठकले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संसोधन विधेयक परिमार्जनसहित पारित गर्न सरकारको ध्यानाकृष्ट गराएको छ ।











प्रतिक्रिया