फलेवास (पर्वत), २९ भदौ । ब्राह्मण समाज पर्वतको आयोजनामा पर्वतमा शङ्खध्वनिसहित सडक पूजा गरिएको छ ।
ब्राह्मण समाजले जारी गरेका मागप्रति सरकारले सुनुवाइ नगरेको भन्दै नेतामा सद्बुद्धिको कामनासहित सडक पूजा गरिएको हो । समाजले शनिबार कुश्माबजारस्थित लोकतन्त्रचोकमा विश्वशान्तिको कामनासहित गुप्तेश्वर बेदबेदाङ संस्कृत पाठशालाका विद्यार्थीको उपस्थितिमा स्वस्तिक वाचन गरी पूजा गरेको थियो ।
सडक पूजामा ब्राह्मण समाजमा आबद्ध विभिन्न पदाधिकारी तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।
ब्राह्मणलाई जातीय आन्दोलनमा लाग्न जातीय स्वभावले नदिने भएकाले दबाबमूलक कार्यक्रमका रूपमा विधिसम्मत नै कार्यक्रम सञ्चालन गरिँदै आएको ब्राह्मण समाज नेपालका केन्द्रीय प्रतिनिधि लोकनाथ आचार्यले जानकारी दिनुभयो ।
मौखिक र लिखित रूपमा दबाब दिँदा सुनुवाइ नगरेका कारण सबै नेपालीको समान अधिकार प्राप्तिका लागि विभेदकारी नीति नबनोस् र जातीय आधारमा कुनै पनि सेवा प्रवाह नगरियोस् भन्ने माग राख्दै आफूहरू आन्दोलनरत रहेको उहाँले बताउनुभयो ।
समाजका केन्द्रीय सदस्य युवनाथ रेग्मीले विशेषतः हिन्दु राष्ट्र कायम गराउनुपर्ने र वृद्धभत्तामा जातीय विभेद गर्न नहुने बताउनुभयो । रासस















प्रतिक्रिया