१३ कार्तिक २०८३, शुक्रबार

धावनामार्गमा…परेड, एउटालाई गोली हानी मारियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ३ माघ । मुलुकको एक मात्र अन्तर्र्रािष्ट्रय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आइतबार दिउँसो साढे २ बजे कुकुरहरूको बथान देखिएपछि त्यहाँको वातावरण खल्बलिन धेरै समय लागेन ।

धावनमार्गमा तीनवटा कुकुर एकसाथ देखिएपछि मलेसियाबाट आएको एयर एसियाको एउटा विमान अवतरण हुन नसकेपछि ओभरसुट (पुनः आकाशमै फर्काउने काम) गर्नुप-यो । यस्तै, नयाँ दिल्लीबाट काठमाडौं आएका एयर इन्डिया र जेट एयरवेजको विमानको उडान पनि प्रभावित बन्न पुग्यो । राजधानी दैनिकले समाचार छापेको छ ।

धावनमार्गमा अकस्मात् एकैसाथ तीनवटा कुकुर हिँडिरहेको देखिएपछि अवतरणका लागि कोटेश्वरमाथिको आकाशबाट आइसकेको एयर एसियाको विमानलाई एक्कासि ओभरसुट गराइएको थियो । विमानस्थलको टावरले दिएको निर्देशनलगत्तै पुनः उचाइ लिँदै अकासिएको सो विमान केही समय काठमाडौं नजिकैको आकाशमा होल्ड गराएर निकै फन्को मारेको थियो ।

एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउमै तीनवटा कुकुर देखिएपछि अवतरण गर्न लागेको सो विमानलाई तत्काल सुरक्षाका लागि ओभरसुट गराउनुपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

‘सम्भावित दुर्घटनालाई मध्यनजर गरी सो विमानलाई पुनः आकाशको उचाइमा पठाएका हौं,’ ठाकुरले भने । उनले एक्कासि धावनमार्गमा पुगेका कुकुरलाई जनावर एवं चरा धावनमार्गमा जान नदिने कार्यमा खटिएका सुरक्षाकर्मी (सार्प सुटर) मार्फत व्यवस्थापन गरिएको बताए ।

धावनमार्गमा आतंक मच्चाउनेमध्ये एउटा कुकुरलाई विमानस्थलका सुरक्षाकर्मीले गोली हानी मारेका छन् भने अन्य दुईवटालाई लखेटिएको थियो । त्यसको केही समयपछि विमानस्थलको उडान सेवा सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ । सो समय नयाँ दिल्लीबाट काठमाडौं आएका एयर इन्डिया र जेट एयरवेजको विमानको उडान पनि प्रभावित भएको थियो ।

विमानस्थल कार्यालयले कुकुरहरू कसरी धावनमार्गसम्म आइपुगे भन्ने निरीक्षण गर्न त्यहाँका जनावर एवं चरा धावनमार्गमा जान नदिने कार्यमा खटिएका सुरक्षाकर्मीहरूलाई व्यापक रूपमा परिचालन गरेको जनाएको छ ।

धावनमार्गमा यसअघि पनि धेरैपटक बाँदर, कुकुर र चराहरूले विमानस्थलको नियमित उडान–अवतरणमा बाधा पु-याउँदै आएका छन् । अहिलेसम्म चरा ठोक्किएर करिब आधा दर्जन विमान सामान्य एवं ठुला दुर्घटनामा परेका छन् । यस विमानस्थलले अझैसम्म लामो समयदेखि जारी कुकुर, बाँदर, स्यालजस्ता जनावर र चरा नियन्त्रणका लागि सिकारी लगाएर बन्दुक र गुलेलीले लखेट्नेबाहेक अत्याधुनिक प्रविधि प्रयोगमा ल्याउन सकेको छैन ।

पछिल्ला दिनमा कुकुर, बाँदर र चरा आतंक थप तीव्र बन्दै गइरहेको छ । पशुपति वनकाली क्षेत्रबाट दैनिक हुलका हुल बाँदर र विमानस्थल प्रवेशद्वारबाटै भुस्याहा कुकुर छिर्न थालेपछि अहिले विमानस्थलका सुरक्षाकर्मीलाई कुकुर र बाँदर लखेट्न भ्याइनभ्याइ छ । त्यहाँका जनावर एवं चरा धावनमार्गमा जान नदिने कार्यमा खटिएका सुरक्षाकर्मी (सार्प सुटर) बेलाबेलामा विमानस्थलभित्र पस्ने कुकुर र बाँदर लखेट्दालखेट्दै थाकिसकेका छन् ।

विमानस्थलभित्र पशुपति वनकाली क्षेत्रको जंगलबाट प्रवेश गर्ने बाँदर आतंककै कारण अहिले वायुसेवा सञ्चालक कम्पनीहरूलाई पनि ह्यांगरमा पार्किङ गरिराखिएका आफ्ना विमान र हेलिकोप्टर जोगाउन मुस्किल भइरहेको छ । गत वर्षको २७ माघमा पनि विमानस्थलको ह्यांगरमा बाँदर पसेर केही हेलिकोप्टरको पखेटा बिगारेको थियो भने धावनमार्ग छेउमा एक हुल बाँदरले परेड खेलेको थियो ।

बाँदर आतंककै कारण अहिले विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चुडालिदिने एवं धावनमार्ग नै छेकिदिनेजस्ता समस्याले विभिन्न वायुसेवा कम्पनीका सञ्चालकहरू आजित छन् । बाँदर र कुकुरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने भयले उनीहरू आतंकित बनेका हुन् ।

यस विमानस्थलमा यस्तो खतरापूर्ण अवस्था देखिएको त्यो पहिलोपटक भने होइन । यहाँ अहिलेसम्म चरा ठोक्किएर मात्र तीनवटा ठूला दुर्घटना भइसकेका छन् । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस ए–३०० जहाज चरा ठोक्किएर दुर्घटना भएको थियो ।

सन् २०१० को सेप्टेम्बरमा बंगलादेशको डीसी १० र २०५९ असोज १२ मा सीता एयरको डोर्नियर जहाज चरा ठोक्किएकै कारण ठुलो दुर्घटनामा परेको थियो ।

विमानस्थलनजिकै मनोहरा खोलामा दुर्घटना भएको सो जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको ज्यान गएको थियो । काठमाडौंबाट लुक्लातर्फ उडेको सो जहाजका चालक विजय तण्डुकारले आफू बिते पनि धन्न सहरको मानव बस्ती भने छलाएका थिए ।