१३ कार्तिक २०८३, शुक्रबार

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी, गच्छदार पनि सरकारमा नजाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रहित अनुकूल नरहेका केही बुँदा नहटाई संविधान संशोधन विधेयक पारित गर्न खोजे सरकार नै छाड्ने प्रस्ट पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा ल्याएर संशोधन पारित गर्ने योजना बनाइरहेका बेला राप्रपाले सो जनाउ दिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

दुवै दलका नेताहरूले पार्टी अध्यक्ष सरकारमा नजाने घोषणासमेत गरेका छन् ।

दुवै दलले संविधान संशोधन विधेयक परिमार्जन नगरी यथास्थितिमा सरकारमा सहभागी नहुने प्रस्ट पारेका हुन् । राप्रपा अध्यक्ष थापा र फोरम लोकतान्त्रिक प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भन्दै जनतामा भ्रम छर्ने काम भएको दुवै पार्टीका नेताले प्रस्ट पारेका हुन् ।

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले अध्यक्ष थापा यथास्थितिमै दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने प्रस्ट पारे । ‘जसका लागि सरकारले संविधान संशोधन गर्न खोज्दै छ, त्यही मधेसी मोर्चाले आफ्नो माग संशोधन विधेयकले पूरा गर्न नसक्ने बताउँदै गर्दा यथास्थितिमै संशोधन गर्नु राम्रो होइन, विधेयक परिमार्जन गरेर देशहितमा नरहेको बुँदा नहटाई अध्यक्ष सरकारमा जानुहुन्न,’ गिरीले भने ।

संविधान जारी गर्ने प्रमुख तीन दलका साथै मधेसी मोर्चाको समेत सहभागितामा उच्चस्तरीय आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने, संविधानमा भएको व्यवस्थाअनुसार तोकिएकै समयभित्र निर्वाचन गर्नुपर्ने राप्रपाको मान्यता रहेको जनाउँदै गिरीले जनताको भावनाविपरीत राप्रपा अध्यक्ष थापा जान नसक्ने बतााए ।

‘अहिले सरकारले ल्याएको संशोधनका विरोधमा प्रदेश–५ का जनता आन्दोलनमा छन्, तिनीहरूको भावनाको कदर गर्नैपर्छ, जनताको भावनाविपरीतको संशोधन पारित गर्न अध्यक्ष सरकारमा सहभागी हुने सम्भावना नै छैन,’ प्रमुख सचेतक गिरीले राजधानीसँग भने, ‘यता मधेसी मोर्चा पनि माग सम्बोधन नभएको भन्दै आन्दोलनमा रहेकाले प्रमुख तीन दलका साथै मधेसी मोर्चासहितको एक उच्चस्तरीय आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्छ ।’

सरकार जबर्जस्ती अघि बढे परिणाम निकै नराम्रो हुने गिरीले प्रस्ट पारे । ‘यथास्थितिमै सरकारले संविधान संशोधन पारित गराउन खोजे सरकारमा रहेका हाम्रा मन्त्रीसमेत फिर्ता बोलाइन्छ,’ गिरीले भने ।

प्रमुख तीन दलका कारण मुलुकमा ठूलो समस्या सिर्जना हुन लागेको बताउँदै उनले समस्या समाधानका निम्ति तीन दलका साथै मधेसी मोर्चासमेत सहमतिमा आउनुपर्ने बताए ।

सरकारको संविधान संशोधनले अहिलेको समस्या समाधान हुन नसक्ने भएकाले सबै समस्याको समाधान हुने गरी अघि बढ्नुपर्ने आफ्नो पार्टीको स्पष्ट मान्यता रहेको उनले प्रस्ट पारे ।

फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले पनि आफ्नो दल यथास्थितिमा दाहाल नेतृत्वको सरकारमा नजाने प्रस्ट पारे । संविधान संशोधन परिमार्जनसहित संविधान संशोधन गरेर मधेसी, आदिवासी जनजाति, थारूको समस्या समाधान नभएसम्म पार्टी सरकारमा नजाने प्रस्ट पारे ।

‘हाम्रो पार्टी अहिले सरकारमा जाँदैन, बाहिर आएको हल्ला झुठो हो, सरकारले यस्तो भ्रम छरेको हो,’ चौधरीले भने, ‘अहिलेकै अवस्थामा हाम्रो पार्टी सरकारमा जाँदैन ।’

सरकारले अघि सारेको संविधान संशोधन विधेयक पारित गराउन राप्रपा अध्यक्ष कमल थापा र फोरम अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव प्रधानमन्त्री दाहालले गर्दै आएका छन् ।

सरकारमा सहभागी गराएर जसरी पनि संशोधन विधेयक पारित गराउने प्रधानमन्त्रीको चाहना भए पनि दुवै दलका नेताले यथास्थितिमा सरकारमा सहभागी नहुने स्पष्ट गरेका हुन् ।