काठमाडौं, १ माघ । विश्वप्रख्यात फेसन डिजाइनर प्रबल गुरुङले नेपाल प्रहरीलाई झुक्याएका छन् । नेपाल प्रहरीको युनिफर्म डिजाइन गर्ने आश्वासन दिएर ९ महिनापछि प्रहरीलाई उनले धोका दिएका छन् ।
गत वैशाखमा उनले प्रहरीको युनिफर्मलाई आकर्षक बनाउन आफूलाई सहयोग गर्ने बचन दिएका थिए । १० बैशाखमा उनलाई नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मानार्थ सदस्यको उपाधी समेत दिए । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
त्यसबापत गुरुङले नेपाल प्रहरीको युनिफर्म डिजाइनका लागि आफूले निःशुल्क सहयोग गर्ने बाचा गरेका थिए । तर, नौ महिना बित्दा पनि उनले आफू ब्यस्त रहेको भन्दै टार्दै आएका छन् ।
पछिल्लो जनवरीको पहिलो हप्ताभित्र आफूले हालको युनिफर्मलाई अझ आकर्षक बनाउन डिजाइन बनाइदिने बताएका थिए । तर, यसपटक पनि उनले धोका दिएको एक उच्च प्रहरी अधिकारीले बताए । गुरुङ नेपाल प्रहरीका डीएसपी दीपशमशेर राणाका साथी हुन् ।
उनकै प्रस्तावमा गुरुङलाई मानार्थ सदस्य दिइएको थियो । तर, गुरुङले भने प्रहरीलाई सहयोग गरेनन् । बिश्वप्रसिद्ध कलाकारदेखि अमेरिकी राष्ट्रपति मिसेल ओबामाको कपडाको समेत गुरुङले डिजाइन गरेका छन् ।
तर, आफ्नो मातृभूमिको नेपाल प्रहरीलाई भने उनले धोका दिएका छन् । प्रहरीको नयाँ पोशाक सेक्युरीटी गार्डको जस्तो भएको भन्दै व्यापक आलोचना हुँदै आएको छ । त्यहीकारण आईजीपी अर्यालले गुणस्तरीय कपडा खरिद गरी आकर्षक डिजाइन समेत बनाउन लागेका छन् ।
डिआईजी देवेन्द्र सुवेदीको संयोजकत्वमा एक समिति बनाई प्रहरी पोशाकमा केही परिवर्तन ल्याउन खोजिएको छ । ब्रान्डेड कम्पनीहरुलाई समेत टेण्डरमा समावेश गराउने गरी यो बर्ष टेक्सटाइल इन्जिनियर नै परामर्शदातामा नियुक्त गरी टेण्डरको प्रक्रिया अघि बढाइएको छ । तर, सेटिङका आधारमा विगतमा प्रहरीमा कपडा बेच्दै आएका ठेकेदारहरु यसलाई असफल बनाउन लागिपरेका छन् ।
सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो भएको र नागरिकमैत्री नभएको भन्दै तीन बर्षअघि प्रहरीको टाटेपांग्रे पोशाक विस्थापन गरी गाढा निलो रङको पोशाक प्रयोगमा ल्याइएको थियो ।
तर कमिसनका आधारमा गुणस्तरहीन कपडा खरिद गर्दा उक्त पोशाक नराम्रो देखिएको भन्दै आलोचना हुँदै आएको छ । कपडाको डिजाइन पनि राम्रो नभएको भन्दै आकर्षक डिजाइन गर्न प्रबलसँग सहयोग मागिएको थियो ।














प्रतिक्रिया