
काठमाडौं, १ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारेका हुन् ।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु। ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरूलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए ।














प्रतिक्रिया