सप्तरी, २८ भदौ । कामका लागि भारत प्रशासित कास्मिर पुगेका सप्तरीका तीन सय युवा बाढीमा फसेका छन्। उनीहरूको उद्धार हुन सकेको छैन। केही अलपत्र अवस्थामा छन् भने केही सम्पर्कविहीन छन्।
मजदुरीका लागि सप्तरीको डाढा-३ कामैतटोलका ७५ जना कास्मिर गएका छन्। गोइठी, मैनाकडेरी त्रिकोल, मधुवापुर, जोगिनियालगायत गाविसका युवा पनि कास्मिरमा छन्।
कामैत टोलबाट गएकामध्ये केही अलपत्र परेका छन् भने केही सम्पर्कमा आएका छैनन्। यसले गर्दा उनीहरूका घरमा चुलो नबलेको स्थानीय समाजसेवी कृष्णनारायण तिवारीले बताए। उनका अनुसार कतिपयका घरमा त रुवाबासी छ।
सम्पर्कमा आएका युवा पनि जोखिमपूर्ण अवस्थामा रहेको र खानेकुरा नपाएर भोकभोकै बस्न बाध्य भएको आफन्तले बताए। उद्धार हुन नसक्दा बाढीपीडित घरको छतमा बसेको र चार दिनपछि बिहीबार हेलिकोप्टरले केही खानेकुरा खसालेको जानकारी आफूले पाएको रामचन्द्र कामैतले बताए।
रामचन्द्रका तीन छोरा मजदुरीका लागि कास्मिरमा छन्। उनले भने, ‘मेरा तीनैवटा छोरा अलपत्र परेको खबर आएको थियो, फोनसम्पर्क हुन छाडेपछि घरमा दुई दिनदेखि चुलो बलेको छैन।’ उनले जोखिमपूर्ण अवस्थामा कास्मिरमा रहेका नेपालीको उद्धारका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छपोको छ ।
कामैत टोलबाट बुचाई कामैत, उनका छोरा प्रमोद र पशुपति, कोपिलादेवी कामैतका छोरा रमेश, देवर देवानन्द, रामचन्द्र कामैतका छोरा छोटैन, रिंकु, गुड्डु, फूलेश्वर कामैतका छोरा दशरथ, देवरानी कामैतका छोरा श्रीनन्दन र उमानन्द, डम्बर कामैतका छोरा रोहित र भाइ सिन्टु, लक्ष्मण कामैतका छोरा दुर्गानन्द, शिवाइ कामैतका छोरा दीपेन्द्र, ओपिन र जितेन्द्र, राम कामैतका छोरा रवीन्द्र, बेवीन्द्र र भाइ गोविन्दलगायत ७५ जना कामका लागि कास्मिर गएका छन।















प्रतिक्रिया