१३ कार्तिक २०८३, शुक्रबार

बाबुरामले भने, ‘संविधान सर्वस्वीकार्य बनाउ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले क्रान्तिको बलमा संविधान निर्माण भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल बौद्धिक पेसाकर्मी महासंघले सोमबार आयोजना गरेको ‘संविधान संशोधनको आवश्यकता’ विषयक गोष्ठीमा उनले भने, ‘संविधानमा थुप्रै कमीकमजोरी भए पनि जनताले जारी गरको यो पहिलो संविधान भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अघि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’ राजधानी दैनिकले समाचार छापेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अघिल्लो संविधानसभामा आन्दोलनकारी शक्तिको संख्या धेरै भए पनि अनुभव नभएका कारण संविधान बन्न नसकेको उल्लेख गर्दै अहिले संविधानविरोधी शक्ति धेरै हुँदा संविधानले समेट्नुपर्ने विषय समेट्न नसकेको तर्क गरे ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान परिमार्जन नै उत्तम उपाय भएको बताउँदै सत्ता प्राप्तिको हतारमा संविधान ल्याउँदा मुलुकले यो अवस्था भोग्नुपरेको उल्लेख गरे ।

अहिलेको संविधानले २०६३ सालको अन्तरिम संविधानले समेटेको अधिकारसमेत खोसेको आरोप लगाउँदै उनले पछिल्लो समय संसद्मा टेबुल भएको विधेयक पनि मधेसी मोर्चाका नेतासँग सल्लाह नगरी ल्याएकामा आक्रोश व्यक्त गरे ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले जनताले स्वामित्व लिन सके मात्र संविधान स्थायी हुने भन्दै संविधानलाई सबैको स्वामित्व स्थापित गर्न सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए ।राजनीतिक विश्लेषक सिके लालले हतारमा संविधान निर्माण गर्ने व्यक्तिलाई नै संशोधन आवश्यकता परेको भन्दै संशोधन गर्दा सबै दलको सहमति आवश्यक रहेको औंल्याए ।

सांसद छाया शर्मा पन्त, राजनीतिक विश्लेषक विजयकान्त कर्ण, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अधिवक्ता शंकर लिम्बूलगायतले मुलुकलाई राजनीतिक निकास दिई आर्थिक विकास गर्न  परिमार्जनसहित संविधान संशोधन आवश्यक रहेकामा जोड दिए ।