रामजी राना
गोरखा, २७ भदौ । गोरखाको ऐतिहासिक स्थल लिगलिगकोटमा असोज १४ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।
चारसय ५५ बर्षअघिको इतिहासलाई स्मरण गर्दै यस बर्ष पनि लिगलिग म्याराथुन दौड हुने भएको हो । लिगलिगकोट विकास अभियानले यस बर्ष बडादशैंको अवसर पारेर चौथो लिगलिगे दौडको आयोजना गर्न लागेको हो ।
यही असोजको १४ गते बिहान चेपे र मस्र्याङ्दीको दोभानबाट दौड सुरु गरिने आयोजक लिगलिग विकास अभियानका अनिल थापाले जानकारी दिनुभयो ।
‘यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको दौड यसबर्ष पनि निरन्तरता दिन लागिएको हो,’ देवकोटाले भन्नुभयोे ‘यसपटक करीब एकसय जना धावकहरु सहभागी हुने अनुमान छ ।’
दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बड्डाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो, लिगलिगकोट गडीसम्मको १३ किलोमिटर पार गर्ने छन् ।
वि.सं १६०४ को असोज शुल्क विजया दशमीका दिन पहिलो पटक १९ बर्षका दलसुर घले मगरले पहिलो चोटी लिगलिगे दौड प्रतियोगितामा जितेर राजा भएदेखि यहाँ दौडेर पहिलो हुने एक बर्षका लागि राजा बन्ने परम्परा बसेको थियो ।
मगरले वि. सं १६१५ सम्म लगातार दौड जितेर राजा बनेको इतिहास छ । बिसं १६१६ (सन १५५९) मा द्रव्य शाह दौडेर राजा भएपछि गोरखा राज्यमा शाह बंशको उदय भएको थियो ।
लिगलिगे दौडमा पहिलो हुनेलाई ५० हजार ५ सय ५ रुपैयाको साथमा श्रीपेच,, पगरी मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै दोस्रो हुनेलाई २५ हजार दुईसय पाँच रुपैया, मेडल प्रमाणपत्र, हिमालयन रेष्ट होम धुलिखेलमा दुईजनाका लागि एक दिनको खानेबस्ने ब्यबस्था गरिएको छ ।
त्यस्तै तेस्रो हुनेलाई १० हजार एकसय एक, मेडल र प्रमाणपत्रको ब्यबस्था गरिएको छ । यसबर्ष महिला खुल्लातर्फ पाँच किलोमिटर दौड आयोजना गरिने भएको छ । पहिलो हुनेलाई १० हजार, दास्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजारको साथमा मेडल र प्रमाणपत्र दिइने छ ।
प्रतियोगितामा सहभागी हुन चाहनेहरुका लागी काठमाण्डौ ववरमहल, दशरथ रंगशाला, चितवन, पोखरा, गोरखा सदरमुकाम, गोरखा चेपेघाट लगायकता ठाउँमा फाराम खुला गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता स्थलमा ल्याउने र खाना खाने व्यवस्था आयोजकले गर्ने छ ।
ऐतिहासिक तथा प्राकृतिक छटाले भरिएको लिगलिगकोट सितल हावापानी, मनोरम दृश्यवलोकनका लागी अनुपम मानिन्छ ।
यहाँबाट अन्नपूर्ण हिमश्रृखला, माछापुछ्रे, मनासुलु लगायतका दर्जनौ सेता हिमश्रृखला, नीला मस्र्याङ्दी नदी, चेपे, दरौदी लगायतका नदी नला देखिनुका साथै हरिया फाँटहरु देख्न सकिन्छ । यहाँबाट सुर्योदय र सूर्योअस्त समेत देख्न सकिन्छ ।
















प्रतिक्रिया