काठमाडौं, २३ पुस । दुबईबाट त्रिभुवन अन्तराष्टिय विमानस्थल भन्सार छलेर गोल्डेन गेट नजिक बरामद भएको ३३ किलो सुन संगठित समूहले ल्याएको आशंका गरिएको छ ।
गृहमन्त्री विमलेन्द्र निधिले सो विषयमा गम्भीर चासो देखाएपछि सुन बरामद गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) प्रमुख डीआईजी नवराज सिलवालले संगठित आपराधिक समूहको संलग्नता रहेको ब्रिफिङ गरेका थिए । राजधानी दैनिकले समाचार छापेको छ ।
डीआईजी सिलवालको सो ब्रिफिङपछि संगठित आपराधिक समूह जिम्मेवार रहेको आशंकामा गृह मन्त्रालयले अनुसन्धान अगाडि बढाउन सीआईबीलाई निर्देशन दिएको छ । बिहीबार सो सुन बरामद भएपछि गृहमन्त्री निधिले शुक्रबार दिउसो नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सीआईबी प्रमुख सिलवालसँग जानकारी लिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भन्सार पास भएर बाहिरिएपछि सीआईबीले पिंगलास्थानबाट बरामद गरेको थियो । भन्सारमा रहेको एक्सरे मेसिनमा देखिनुपर्ने वस्तु कसरी बाहिर आयो भन्ने सम्बन्धमा अनुसन्धान गर्ने विषयमा शुक्रबार गृहमन्त्री निधिले प्रहरी महानिरीक्षक अर्याल र गृहसचिव र सीआईबी प्रमुख सिलवाल तथा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारीसँग छलफल गरेका थिए । स्रोतका अनुसार गृहमन्त्री निधिलाई सिलवालले ब्रिफिङ गर्दै ‘सो घटनामा संगठित आपराधिक समूहको संलग्नताको आशंका’ रहेको बताएका थिए । गृहमन्त्री निधिले सो आपराधिक समूहको पहिचान गरी नियन्त्रणमा लिएर कडा कारवाही गर्न निर्देशन दिएका छन् ।
साथै गृहमन्त्री निधीले सो घटनाको अनुसन्धान गर्न व्युरो प्रमुख डीआईजी सिलवाललाई जिम्मा दिएका छन् । सुन पक्राउ लगत्तै भारतीय नागरिकले मगाएको देखिए पनि नेपाली नागरिकको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । गृहमन्त्रीको सो निर्देशनपछि सीआईबीमा प्रहरी प्रमुख अर्यालसहितको विशेष बैठक बसेको थियो । सो बैठकमा गम्भीर प्रकृतिको घटना भएकाले यसलाई प्रहरीले मिहिन ढंगले अनुसन्धान गर्ने र सोही अनुसारको नतिजा सार्वजनिक गर्ने निर्णय समेत भएको स्रोतले दावी गरेको छ ।
यसैगरी विमानस्थलमा सुरक्षा व्यवस्था पनि कडा बनाउन प्रधान कार्यालयले विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ । विमानस्थल प्रहरी र भन्सार कर्मचारीले समन्वय गर्न नसकेको हो वा उनीहरुबीच खटपट भएको हो भन्ने विषयमा पनि प्रहरीले गम्भीर समीक्षा गर्ने भएको छ ।
यसैबीच, एयर अरेबियाको जहाजमार्फत् साउदी अरेबियाबाट ल्याइएको ३३ किलो सुनसहित बिहीबार पक्राउ परेका नेपालगञ्जका गोपाल शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई संगठित अपराधमा मुद्धा चलाइने भएको छ ।














प्रतिक्रिया