३० आश्विन २०८३, शुक्रबार

सहरी क्षेत्र चिनाउने ‘सहरी संकेत’ को मापदण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं, २७ भदौ । सहरी क्षेत्रका अत्यावश्यक क्षेत्र चिनाउने ‘सहरी संकेत’को निर्माणका लागि मापदण्ड बन्ने भएको छ । सहरी विकास मन्त्रालयले संकेत अभाव भएको भन्दै देशभर नगरपालिकामा लागु गराउन छ महिनाभित्र मापदण्ड ल्याउने तयारी गरेको हो।

मन्त्रालयका प्रवक्ता सुरेश आचार्यका अनुसार दसैंअगाडि विशेषज्ञ नियुक्त गरेर मापदण्ड तयार गर्न लागिएको छ । साथै, सहरी क्षेत्रको ठेगाना प्रणालीबारे पनि यसले विशेष मापदण्ड तयार गर्ने उनले जनाए । ‘सडक, पर्यटकीय स्थल, धार्मिक स्थल लगायत क्षेत्रमा संकेत चिन्ह नहुँदा सहरी बासिन्दा अलमलमा परेका छन्,’ उनले भने, ‘ठेगाना प्रणाली निकै कमजोर र सहरी संकेत नभएका कारण सहर निकै नराम्रो देखिन्छ ।’

उनका अनुसार सहरी संकेत कहाँ राख्ने, कस्तो राख्ने, कसरी राख्ने लगायत विषय समेटेर मन्त्रालय मापदण्ड बनाउने चरणमा छ । ‘निजी व्यवसायी वा अन्य कार्यालयले बनाउने बोर्डले समेत भएका संकेत चिह्न छेकिएका छन्,’ उनले भने, ‘त्यसैे स्पष्ट मापदण्ड ल्याएर कार्य गर्नु आवश्यक छ ।’

ठेगाना प्रणाली भरपर्दो नभएको र सहरी संकेत प्रयोग निकै कम भएकाले मापदण्ड अत्यावश्यक भइसकेको उनको बुझाइ छ । मन्त्रालयले चाँडै कार्यगत सर्त (टिओआर) निर्माण गरेर मापदण्डको तयारी गर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डमा रहेर देशभरका नगरपालिकालाई संकेत चिन्ह निर्माण कार्यान्वयनका लागि सहयोग पुर्‍याउने उनले जानकारी दिए । राजधानीका ठूला सडक हुन् वा पर्यटकीय स्थल, संकेत अभावमा सहर अव्यवस्थित बनेको बुझाइका आडमा यस्तो कार्ययोजना बनाइएको आचार्यले जानकारी दिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सार्वजनिक वा निजी स्थानमा रहेका शौचालय, खानेपानी, अस्पताल, स्कुल, पार्किङ, संग्रहालय जस्ता क्षेत्र संकेत अभावमा पहिचान गर्न अप्ठ्यारो हुने गरेको छ । नागरिकलाई सूचना दिने, गर्न हुने÷नहुने कुराबारे जानकारी दिन र चेतनामूलक सन्देश दिनका लागि सहरी संकेत आवश्यक पर्ने गरेको सरोकारवाला बताउँछन् ।