गोरखा, २७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको गोरखा जिल्ला समितिले बूढीगण्डकी जलविद्युत आयोजनाका कुनै पनि काम अघि बढाउन नदिन मातहत संयन्त्रलाई सर्कुलर गरेको छ।
आयोजना क्षेत्र पर्ने गोरखाका १४ गाविसका पार्टी सभापतिलाई बिहीबार सदरमुकाममा भेला गराएर जिल्ला समितिले बूढीगण्डकी जलविद्युत आयोजनाले एकलौटी रुपमा काम अघि बढाएको भन्दै काम रोक्न निर्देशन दिएको हो ।
सामाजिक र वातावरणीय अध्ययनका लागि कर्मचारी छनोटमा पार्टीलाई बेवास्ता गरिएको एवं प्रभावित क्षेत्रका नागरिकलाई अग्राधिकार नदिएको भन्दै कांग्रेसले प्रारम्भिक अध्ययनमा असहयोग गर्दै आएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
‘गाउँ पार्टी सभापतिलाई आफ्नो क्षेत्रको प्रभावित गाविसमा काम रोक्न भनेका छौं,’ जिल्ला पार्टी प्रवक्ता कृष्ण आलेले नागरिकसँग भने, ‘वडास्तरसम्म सर्कुलर गरेका छौं ।’
प्रभावित क्षेत्रका स्थानीयलाई विचारका आधारमा काममा छनोट गरिएकाले कांग्रेसले अवरोध गरेको उनले बताए । आफ्नो पहुँच रहेका आधा दर्जनभन्दा बढी गाविसमा काम ठप्प पारेको र प्रभावित अन्य गाविसमा समेत ‘बल पुगेसम्म काम रोक्न’ गाविस र वडास्तरसम्म आफ्नो संगठनलाई निर्देशन दिइएको आलेले जानकारी दिए ।
बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रमा हाल जारी तथ्यांक संकलन विकास समितिले एकलौटी रुपमा अगाडि बढाएको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय कांग्रेसले गरेको प्रवक्ता आलेले जानकारी दिए ।
‘आउँदो २९ गते प्रधानमन्त्री र विकास समिति दुवैलाई यसबारे ध्यानाकर्षण गराउनेछौं, त्यसपछि मात्रै काममा सहयोग गर्ने/नगर्ने भन्ने कुरा हामी गाविसका संयन्त्रलाई भन्छौं,’ प्रवक्ता आलेले भने । कांग्रेसले आफूनिकटका प्रभावित विस्थापित क्षेत्रका मानिसलाई समेटेर छुट्टै बूढीगण्डकी सरोकार समिति घोषणा गर्ने निर्णयसमेत गरेको छ । आउँदो ३१ गते समिति गठनको तयारी गरिएको जिल्ला पार्टीले जनाएको छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी नदिएको, खुला प्रतिस्पर्धामा काम गर्ने अवसरबाट वञ्चित गरेको, एकलौटी रुपमा एमाओवादीको भट्टराई पक्ष निकटका व्यक्तिलाई मात्रै विकास समितिले सामाजिक परिचालक नियुक्त गरेको विषयमा बहस नहुँदासम्म कांग्रेसले काममा सहयोग नगर्ने जिल्ला सभापति हरिबहादुर घलेले बताए ।
‘विकास समितिले अहिल्यैदेखि प्रक्रियाअनुसार काम गरेन भने भोलि निर्माण सुरु भएपछि अवरोध हुँदा राज्यले धेरै नोक्सान बेहोर्नुपर्छ,’ घलेले भने, ‘सामाजिक परिचालक नियुक्तिको सामान्य विषयदेखि स्थानीयलाई सहभागी गराउनुप-यो भन्ने हाम्रो माग हो ।’
गोरखा कांग्रेसले पटक–पटक विज्ञप्ति, सार्वजनिक वक्तव्य र स्मरणपत्रमार्फत बूढीगण्डकीको काम प्रभावकारी नभएको बताउँदै आएको छ । जिल्लास्तरदेखि गाविससम्मका नेता–कार्यकर्ताले आफ्नो पार्टीमा कार्यकर्तालाई कुनै स्थान नदिएकाले सहयोग नगर्ने सार्वजनिक समारोहमा बोल्दै आएका छन् ।
एकीकृत माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आफूनिकटका लक्ष्मी देवकोटालाई बूढीगण्डकी आयोजना विकास समितिको अध्यक्ष बनाएको र देवकोटाले आफूनिकटलाई मात्र जागिर खुवाएको कांग्रेसको आरोप छ । मुख्य मुद्दा बिनाप्रतिस्पर्धा, विचारका आधारमा कर्मचारी नियुक्त गरिएको बारे कांग्रेसले गत ९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।















प्रतिक्रिया