काठमाडौं, २७ भदौ । नेकपा–माओवादीका एक केन्द्रीय सदस्यलाई कारवाहीको विषयले पार्टी पदाधिकारीबीचको विवाद सतहमै आएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनुशासनविपरित काम गरेको भन्दै निलम्बन गरेपछि सचिव नेत्रविक्रम चन्दले त्यसमा प्रश्न उठाएका छन् ।
‘कारवाहीको नाममा निकालेको वक्तव्य कुनै कमिटीको निर्णय नभएको साथै पार्टी पद्धति विपरित भएकोले उक्त निर्णयप्रति असहमत रहेको जानकारी गराउदछु’, चन्दले विज्ञप्ति जारी गरी भनेका छन् ।
चितवनको पार्टी कार्यलय विक्रिको विषयलाई लिएर शर्मा र एमाओवादीका जिल्ला नेताले संयुक्त रुपमा विज्ञप्ति जारी गरी पार्टी नेतृत्वको कार्यशैली र पद्धतिको आलोचना गरेका थिए । पार्टीभित्रका गलत नेताका कारण कार्यालय विक्रिको प्रयास भएकाले त्यसलाई रोक्नुपर्ने बताएका थिए । त्यसमा नेतालाई अनर्गल आक्षेप लगाइएको भन्दै महासचिव रामबहादुर थापाले २२ गते विज्ञप्ति जारी गरी निलम्बन गरिएको सार्वजनिक गरेका थिए ।
‘मर्यादाविपरित र अनुशासनहीन काम गरेकोमा तत्काल अनिश्चिकालका लागि सम्बन्धित कामको जिम्मेवारीबाट निलम्बन गरिएको सार्वजनिक गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
पार्टीभित्र चन्द निकट मानिने केन्द्रीय सदस्य शर्माको कारवाही एकपक्षीय ढंगले भएको आरोप लगाइएको छ । पार्टीभित्र चलाइएको वैचारिक बहसका कारण आफूलाई कारवाही गरिएको शर्माले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
ुपार्टी नेतृत्वले ल्याएको दस्तावेजलाई चुनौति दिई फरक दस्तावेज ल्याएको परिणाम हो योु, उनले भने । असारमा भएको राष्ट्रिय सम्मेलनमा सचिव चन्द पक्षले अध्यक्ष मोहन वैद्यको भन्दा बेग्लै दस्तावेज ल्याएको थियो ।
आफूमाथिको कारवाही पदाधिकारीबीच छलफल नभै ल्याएको दावी शर्माको छ । ‘कारवाहीको निर्णय गर्दा बैठक बसेको छैन । बसेको भए सहमतीको निर्णय हो कि बहुमतको, शर्माले प्रश्न उठाए, ‘नेतृत्वको विपक्षमा मत राख्नेलाई सिध्याउने षडयन्त्र अनुरुप कारवाही भएको हो ।’
३ वर्ष अघि एमाओवादी विभाजन हुदा जिल्लाका पार्टी सदस्य संख्याका आधारमा कार्यालय लगायतका सम्पत्ति बाँडफाँड गर्ने सहमती बनेको थियो । चितवनको महंगो ठाउमा रहेको पार्टी कार्यालयमा दुवै माओवादीको दावी रहदै आएको छ ।
शर्माले एमाओवादीभित्र नेता बाबुराम भट्टराईले बनाएको समानान्तर कमिटीका अध्यक्षसँग मिलेर संयुक्त रुपमा हस्ताक्षर गरी नेतृत्वको आलोचना गरेका हुन् ।
‘पार्टीभित्र अनुशासन हुन्छ । जनवादी केन्द्रीयता हुन्छ । सबै तोडेर आफूखुशी गर्ने छुट कसैलाई हुन्न’, शर्मामाथिको कारवाही स्वभाविक रहेको प्रतिक्रिया प्रवक्ता पम्फा भुसालले दिइन ।















प्रतिक्रिया