३० आश्विन २०८३, शुक्रबार

सहायक विषयमा अड्किए दलहरू, राजनीतिक सम्मेलन अन्यौलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meetingकाठमाडौं, २७ भदौ । प्रमुख राजनीतिक दल राजनीतिक सम्मेलन गर्न प्रमुख मुद्दामा सहमत हुदाहुदै कहिले गर्ने सहायक विषयमा अल्झिएका छन् । सम्मेलन एक दिन अघि वा पछि गर्ने विषयमा कुरा नमिल्दा अन्यौलमा परेको छ ।

कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीको बिहीबार राजनीतिक सम्मेलन गर्न बसेको बैठक मितिमा कुरा नमिल्दा बिनानिश्कर्ष टुंगिएको छ । सहमति नभएपछि सम्मेलनको मिति दशै पछि धकेलिने संभावना बढेको छ ।

सहमति नभएपछि दलका नेताहरु आरोपप्रत्यारोमा उत्रिएका छन् । सम्मेलनको मितिमा नेताहरु सहमतिमा नपुग्नुलाई एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । ‘मुलुक संकटमा परिरहेको बेला राजनीतिक सम्मेलन एक दिन अघि वा पछि गर्न सहमत नभएर नेताहरुले गैरजिम्मेवारीको पराकाष्ठा प्रदर्शन गरेको छन्’ उनले भने, ‘यसले जनताको चाहनामाथि गंभीर खेलवाड भएको छ ।’

राजनीतिक सम्मेलन भदौ ३१ कि असोज १ गते गर्नेबारे दलहरुबीच मतभेद भएको थियो । कांग्रेसले प्रधानमन्त्री सुशील कोइराला अमेरिका जानुअघि भदौ ३१ गते र नेकपा-माओवादीले असोज १ गते राजनीतिक सम्मेलन गर्ने प्रस्ताव गरेको थियो । कोइराला असोज ३ गते उपचारका लागि अमेरिका जादैछन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीले ३१ गते राजनीतिक सम्मेलन गर्न नमानेका कारण कुरा नमिलेको बताए । ‘हामीले २९ गतेबाट ३१ गते राजनीतिक सम्मेलन गर्ने प्रस्ताव गर्‍यौ, सुरुमा मानेर पनि माओवादी पछि हट्यो’ उनले भने, ‘त्यसकारण कुरा मिल्न सकेन ।’

माओवादी सचिब देव गुरुङलेचाहि प्रमुख दलहरुनै नभएकाले राजनीतिक सम्मेलन हुन नसकेको दावी गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ‘हाम्रो पहिलेनै कार्यक्रम तय भएकाले ३१ गते सम्मेलन गर्न नभ्याउने भनेका थियौ, कांगे्रसले त्यो दिन हुनैपर्छ भन्यो’ उनले भनाइ छ, ‘सम्मेलन गर्ननै रुची नदेखिएको जस्तो देखियो ।’

पौडेलले भने माओवादीले शान्ति प्रक्रियासंग सम्वन्धित मुद्दा टुंगो नलगाएसम्म राजनीतिक सम्मेलनमा नजाने कुरा राखेपछि मनसाय स्पष्ट भएको बताए । ‘शान्ति प्रक्रियासंग सम्वन्धित राजनीतिक मुद्दामा सहमति नभएसम्म सम्मेलन नगर्ने वैद्यजीले बताएपछि उहाहरुको अन्तरवस्तु बुझियो’ उनले भने, ‘त्यसकारण माओवादी एक दिन छिटो सम्मेलन गर्न तयार देखिएन ।’

माओवादीले संक्रमणकाल अन्त्य गर्न दलहरुबीच छलफ हुनुपर्ने प्रस्तावमा सहमति भएर पनि मितिमा कुरा नमिलेकाले सहमतिको वातावरण बिग्रिएको एमाओवादी उपाध्यक्ष श्रेष्ठको भनाइ थियो । ‘शान्ति प्रक्रिया टुंग्याउन दलहरुबीच छलफल गर्ने र संविधानका अन्तरवस्तुबारे राजनीतिक सम्मेलनमा लैजाने सहमति भइसकेको थियो’ उनले थपे, ‘सम्मेलन गर्नेमा बिवाद भएपछि मिनेटमै बैठक भाडियो ।’

एमाले उपाध्यक्ष भीम रावलको भनाइमा राजनीतिक सम्मेलन छिटो गर्नेमा दलका नेता सहमत भए पनि माओवादीले सम्मेलनको मिति र संविधानसभाबाहिर छुट्टै संयत्र हुनुपर्ने बिषय उठाएको बताए ।

‘संविधान निर्माण संग सम्बन्धि बिषयहरुमा सहमति खोज्ने काम सभाले गर्ने हो । तर त्यहा असहमत भएका बिषयहरु हेर्नका लागि संविधान सभा भन्दा बाहिर छुट्टै संयन्त्र बनाउनुपर्ने कुरा पनि उहाहरुको तर्फबाट आएको छ । संविधान सभा भन्दा बाहिर त्यसलाई प्रभावित गर्ने खालको संयन्त्र बनाउन हामी तयार छैनौ’ उनले भने, ‘यो कुरा हामीले  आजको बैठकमा स्पष्ट भनेका छौ ।  मितिकै बिषयमा कुरा नमिलेपछि अन्य बिषयलाई टुंगो लाग्ने कुरा भएन । यसबारे थप कार्यदलले फेरि थप छलफल गर्ने कुरा भएको छ ।’