२८ आश्विन २०८३, बुधबार

सुन तस्करी: राजधानीका ‘डन’ देखि प्रहरीसम्मको जालो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Basnet

बिमानस्थलको नाकामा कडाई हुन थालेपछि पछिल्लो समय सुन तस्करहरूले काठमाडौं–खासा रुटलाई आफ्नो अबैध ब्यापारको केन्द्र बनाएको पाइएको छ । चिनियाँ ब्यापारीलाई समेत साथमा लिई ठमेललाई केन्द्र बनाएर ब्यापार गरिरहेका केही ब्यापारीहरूले अबैध विदेशी मुद्रा र सुनको कारोवार अघि बढाएका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान बिभागको संयुक्त टोलीले अबैध कारोवार भइरहेको आशंकामा गत १६ भदौंमा ठमेलमा सञ्चालित सात मनिचेञ्जरमा छापा मारी बिदेसी मुद्रा बरामद गरेपछि सुन तस्करहरूको पछिल्लो कारोवारको तथ्य बाहिर आएको हो । यद्यपी राजस्व अनुसन्धान बिभागले यस बिषयमा अनुसन्धान जारी रहेको जानकारी गराएको छ ।

अख्तियार र राजस्व टोलीले बिशेष सूचनाको आधारमा ठमेलस्थित बाबुराम अर्याल सञ्चालक रहेको न्यू अन्नपुर्ण मनि एक्सचेञ्ज, रोशन श्रेष्ठ सञ्चालक रहेको माउन्ट एभरेष्ट मनि एक्सचेञ्ज र ट्राभलएक्स मनि एक्सचेञ्ज, मनिकुमार श्रेष्ठ सञ्चालक रहेको अन्नपुर्ण मनि एक्सचेञ्ज र हरि धरेल तथा बलराम सापकोटा सञ्चालक रहेको अल्पाइन मनि एक्सचेञ्ज, जनक पौडेल सञ्चालक रहेको वेलकम मनि एक्सचेञ्ज र माउन्टेन मनि एक्सचेञ्जमा छापा मारेको थियो । उक्त मनि एक्सचेञ्जरहरूबाट १ करोड २६ लाख नेपाली रुपैया बरावरको बिदेसी मुद्रा र ८४ लाख नेपाली रुपैया पनि बरामद गरिएको छ ।

राजस्व अनुसन्धान विभागमा उपमहानिर्देशक बालकृष्ण घिमिरेले राजस्व चुहावटको आशंकामा ठमेलका मनी चेञ्जरमा छापा मारिएको जानकारी दिए । ‘राजस्व चुहावटको आशंकामा छापा मारिएको हो, सात मनी चेन्जरमा भएको स्वदेशी र विदेशी मुद्राको स्रोत के हो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ,’ घिमिरेले भने । सो छापा अख्तियार र राजस्वको संयुक्त टोलीले मारेको थियो । उपमहानिर्देशक घिमिरेले सवै मनी चेन्जरका संचालकहरू विभागको सम्पर्कमा आएको उनको भनाइ छ ।
त्यति ठूलो मात्रामा बिदेसी मुद्रा बरामद भएपनि मनि एक्सचेञ्जका सञ्चालकहरूलाई भने अनुसन्धान गर्ने भएकै कारण पक्राउ नगरिएको दुवै निकायले जनाएका छन । राजस्वले अनुसन्धानको लागि मनि एक्सचेञ्जका कम्युटरलगायत फेला परेका बिदेसी मुद्रा र नेपाली रुपैया भने नियन्त्रणमा लिएको छ । नक्कली रसिद काटेको पाइएको र तोकिएको भन्दा धेरै गुणा बढी बिदेसी मुद्रा फेला परेपछि राजस्वले आफ्नो नियन्त्रणमा लिएको हो । यसअघि नेपाल राष्ट्र बैंकको छडकेमा ८ हजार डलर फेला परेपछि एउटा मनि एक्सचेञ्जको लाइसेन्स नै रद्द गरिएको थियो । यस पटक भने सो रकम बैध हो कि अबैध भन्ने छुट्टयाउन नसकी सञ्चालकलाई पक्राउ नगरिएको हो ।

goldठमेलका बिभिन्न मनि एक्सचेञ्जबाट अबैध रुपमा डलर खरिद गरी चीन पु¥याउने र चीनबाट तातोपानी नाका हुँदै पुन काठमाडौंसम्म सुन भित्र्याउने गरिएको छ । यस कार्यका लागि पछिल्लो समय ठमेलस्थित थाइसान होटल, फोनेक्स होटल, कुवेरिया महल होटल र छेन्दु होटलमा चिनियाँ तस्करहरूको निकै भिड लाग्ने गरेको छ । यसैगरी मनि एक्सचेञ्जहरू अबैध बिदेसी मुद्रा सटही गरी सुन तस्करीको सुत्रपातका रुपमा देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले ठमेलस्थित इको मनि एक्सचेञ्ज, डेस्को मनि एक्सचेञ्ज, ठमेल मनि एक्सचेञ्ज, सनराइज मनि एक्सचेञ्ज, लोटस मनि एक्सचेञ्ज, त्रिदेव मनि एक्सचेञ्जले सुन लिएर आउने चिनियाँ नागरिकलाई बिदेसी मुद्रा सटही गर्ने गरेको सूचना पाएको बताएको छ । मनि एक्सचेञ्जका सञ्चालकहरू ती होटलमा बस्ने चिनियाँ नागरिकलाई मात्रै डलर बेच्ने गरेका स्रोतले जानकारी दिएको छ । त्यो डलर लिएर चिनिया नागरिक गाडी नै रिजर्भ गरी तातोपानी नाकाबाट चीन प्रवेश गरी अबैध सुन लिएर नेपाल फर्कन्छन । चिनियाँ नागरिकले ल्याएको अबैध सुन बांगेमुढास्थित एक मनि एक्सचेञ्जका सञ्चालकलाई बिक्री गर्ने गरेको सूचना पनि प्रहरीसम्म पुगेको छ । महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतका अनुसार मनि एक्सचेञ्ज आफ्नै घरमा भएको कारण बांगेमुडास्थित मनि एक्सचेञ्ज सञ्चालकको घरको सुन पु¥याउने गरिएको हो । अनुसन्धानको क्रममा रहेको भन्दै ती अधिकृतले मनि चेञ्जरका सञ्चालकको नाम भने बताउन नमिल्ने जानकारी दिए । प्रहरीले यस बिषयमा निगरानी बढाए पनि प्रमाण भने पाइसकेको छैन । स्रोतका अनुसार प्रहरीको सुराकीसमेत तस्करसँग मिलेपछि प्रहरीले ठोस प्रमाण पाउन सकेको छैन । ठमेलकै दरवार स्क्वायर मनि एक्सचेञ्ज, डाँफे मनि एक्सचेञ्ज, काठमाडौं मनि एक्सचेञ्जले पनि चिनिया नागरिकलाई अबैध रुपमा डलर बिक्रि गरिरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले डलरसहित पक्राउ गर्न थालेपछि चिनिया तस्करहरूले चिनेको भन्दा अर्काे गाडिसमेत प्रयोग गर्न छाडेका छन । ‘पानी खाने थर्मस, फर्सीदेखि जुत्ताको भित्रि भागमा समेत डलर पोको पारेर चिनिया नागरिक काठमाडौंबाट खासातर्फ जान्छन,’ ठमलेबाट तातोपानी नाकासम्म चिनिया नागरिक छाडने गरेका एक सवारी चालकले भने ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की सुन र डलर तस्करहरूको नेक्सस (जालो) काठमाडौंदेखि खासासम्मै रहेको स्वीकार गर्छन् । अनुसन्धानको पाटोमै रहेको कारण नेक्ससमा रहेका ब्यापारी र बिचौलियाहरूको नाम भने प्रहरीले अहिलेसम्म गोप्य रुपमै अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, अरनिको राजमार्गबाट हुने यो तस्करीमा गुण्डा नाइके गणेश लामा, बलराम सापकोटा, दावा लामालगायतको बिशेष संलग्नता रहेको छ ।

‘सुन तस्करीबाट आउने पैसाले गुण्डालाई नै फाइदा भइरहेकोले हामी यसतर्फ बिशेष सचेत भएर हेरिरहेका छौं,’ एसएसपी कार्कीले भने, ‘चाँडो पैसा कमाउने बाटोले गुण्डागर्दी मौलाउने गरेको छ, त्यसो हुन नदिन डलरको अबैध कारोवारदेखि सुन तस्करीसम्मलाई हामी मिहिन ढंगबाट अनुसन्धान गरिरहका छौं ।’ स्रोतका अनुसार खासादेखि काठमाडौंसम्म सुन तस्करी गरेर ल्याउँदा प्रतितोला २ देखि ३ हजार रुपैया नाफा हुने गरेको कारण पनि यसमा तस्करहरूले जोकोहीलाई प्रयोग गरिरहेका छन । यस्तै बिदेशबाट रेमिट्यान्समार्फत नेपाल भित्रने रकम सोझै नआई हंङकङहुँदै चीन पुग्ने र त्यहाबाट सुन खरिद गरी नेपाल ल्याउने गरेको पनि पाइएको छ । ‘छिटो पैसा कमाउने बाटो रोज्नेहरूमाथि निगरानी बढाइएको छ, परिणाम चाँडै आउँछ,’ एसएसपी कार्कीले भने ।

(राजधानी दैनिकका समाचार सम्पादक बस्नेत प्रेस चौतारी नेपालका सल्लाहकार हुन)