१३ कार्तिक २०८३, शुक्रबार

पूर्व अधिराजकुमारी प्रेणाको दाइजो खोसियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा सिंहलाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारमातहत आएको छ। सर्वोच्च अदालतले बिहीबार उक्त जग्गा सरकारकै भएको फैसला दिएको छ ।

पूर्वराजदरबारको नाममा रहेको जग्गा र महलको चल्तीको मूल्य करिब एक अर्ब हुन्छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की र सपना मल्लको संंयुक्त इजलासले दाइजोको जग्गा सरकारकै नाममा ल्याउने फैसला गरेको हो ।

तत्कालीन राजदरबारका नाममा रहेको जग्गा सरकारले नेपाल ट्रस्टका नाममा ल्याउने तयारी गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएका थिए ।

सरकारले १ पुस ०६४ मा नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप उक्त जग्गा ट्रस्टमा राख्ने निर्णय गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

हेर्नुहोस् प्रेरणाको सम्पत्तिसँग जोडिएका सात मिति

१९ जेठ ०५८ अघि : वीरेन्द्र राजा हुँदा छाउनीको महलसहितको १५ रोपनी जग्गा र घरको पुर्जामा ‘श्री ५ महाराजाधिराज’ लेखिएको थियो ।

१० माघ ०५९ : वीरेन्द्रको वंश नासपछि राजा भएका ज्ञानेन्द्रले छोरी प्रेरणाको बिहे गरिदिए । र, छाउनीको घरजग्गामा प्रेरणा आफ्ना पति राजबहादुर सिंहसहित बस्न थालिन् ।

१० जेठ ०६२ : देशको संवैधानिक राजा मात्र होइन, शासनशक्ति नै हातमा लिएको वेला ज्ञानेन्द्रले छाउनीको सम्पत्तिको हक छोरीलाई दिए । तर, लालपुर्जा फेरि पनि ‘श्री ५ महाराजाधिराज’कै नाममा थियो ।

१ पुस  ०६४ : गणतन्त्र स्थापनासँगै वीरेन्द्रको सम्पत्ति स्वतः राष्ट्रियकरण गर्ने व्यवस्थाअनुसार सरकारले प्रेरणाले भोगचलन गरिरहेको सो सम्पत्ति पनि नेपाल ट्रस्टको स्वामित्वमा ल्याउने निर्णय गर्‍यो ।

२५ माघ ०७१ : सम्पत्ति नेपाल सरकारमा आइसकेको सात वर्षपछि प्रेरणा सर्वोच्च पुगिन् र आफू ले बाबुबाट दाइजो पाएको सम्पत्ति फिर्ता गरिपाऊँ भनी रिट हालिन् ।

८ असार ०७२ : तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले प्रेरणाले कानुनअनुसार नै दाइजो पाएकाले सो सम्पत्ति राष्ट्रियकरण गर्न नसकिने फैसला दियो ।

२१ पुस ०७३ : तर, नेपाल ट्रस्टले पुनरावेदन गरेपछि वर्तमान प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू दीपक कार्की र सपना मल्लको इजलासले प्रेरणाको सम्पत्ति फेरि राष्ट्रको नाममा फिर्ता गरेको छ ।