१ कार्तिक २०८३, आइतबार

कार्यकारी निर्देशक ज्ञवालीलाई हटाउने नै हो: दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासनिक सल्लाहकार नारायण दाहालले पुनर्निर्माण प्राधिकरण प्रमुखले सरकारलाई बुझाएको १२ पेजको स्पष्टीकरण चित्तबुझ्दो नरहेको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै सल्लाहकार दाहालले स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै सरकारले आजै हटाउनसक्ने बताए ।

‘राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीजीले १२ पेजको स्पष्टीकरण बुधबार बुझाउनु भएको छ । मैले पनि सरसरती हेरेको छु । मलाई त चित्त बुझेन । प्रधानमन्त्रीले के गर्नु हुन्छ उहाँको कुरा हो’, उनले भने, ‘स्पष्टीकरण चित्तबुझेन भने सरकारले हटाउँछ । अहिलेसम्म ज्ञवालीले गरेको कामबाट पीडित जनतादेखि सरकारसम्म कोही पनि सन्तुष्ट छैनन् ।’

ज्ञवालीलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको सिइओ बनाएको थियो । सरकार परिवर्तन भएसँगै अब उनलाई स्पष्टिकरणका नाममा हटाउने खेलमा सरकार लागेको छ । उनको ठाउँमा कांग्रेसनिकट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेललाई सिइओ बनाउने तयारी छ ।

तपाईहरूले हटाए पनि ज्ञवाली अदालतबाट पुनः पदमा आउन सक्नु हुन्छ नि ? भन्ने प्रश्नमा प्रधानमन्त्रीका सल्लाहकार दाहालले भने, ‘सरकारले हटाएपछि फिर्ता आउने नआउने कुरा उहाँको हो । नैतिकताको पनि कुरा हुन्छ । काम गर्न नसक्ने र जनतालाई राहत दिन नसक्ने कर्मचारी पालिरहनु पर्छ भन्ने छैन । सरकारले हटाउँछ ।’

कहिलेसम्म हटाउनु हुन्छ भन्ने जिज्ञासामा दाहालले भने, ‘आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठकमा ज्ञवालीजीको स्पष्टीकरणले पनि प्रवेश पाउँछ ।’

सरकारले गत बिहिबार प्राधिकरणले पीडितलाई रकम बाँड्न नसकेको, कर्मचारीसँग समन्वय गर्न नसकेको, पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायत पाँच वटा विषयमा स्पष्टीकरण माग्दै हप्ता दिनको समय दिएर ज्ञवालीलाई पत्र पठाएको थियो ।

ज्ञवालीले अप्रत्यक्ष रुपमा सरकारले आफूलाई हटाए अदालत जाने आफू निकटस्थहरुसंग बताउन थालेका छन् ।