काठमाडौं, २१ पुस । भारतीय समुद्रमा माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगेका गुल्मी, बडागाउँका यमबहादुर सार्की उद्धार–सहयोगीको भरथेग पाएर मंगलबार राति काठमाडौं उत्रँदा निकै मुस्किलले नेपाली बोलिरहेका थिए ।
‘एक सालसम्म जेलमा थिएँ, नेपाली बोल्नै मुस्किल परिरहेको छ,’ पुसे ठिहीमा समेत पातलो सर्ट, फाटेको पाइन्ट र प्लास्टिकको चप्पलका भरमा विमानस्थलमा भेटिएका सार्कीले एकै सासमा सुनाए, ‘कराँचीको ल्यान्डी जेलमा ५ सयभन्दा बढी कैदी थियौं, म एक जना मात्रै नेपाली थिएँ । यसरी अचानक घर फिर्न पाउँला भन्ने लागेकै थिएन ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।
भारत–पाकिस्तान सीमावर्ती पञ्जाब प्रान्तको समुद्रमा पानी जहाजमा तैरिँदै माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ ३ का सार्की सामुद्रिक सिमाना थाहा नपाई पाकिस्तान पुगेका थिए । मछुवारको भरिया मात्रै बनेर काममा गएका ३३ वर्षे सार्कीलाई ‘आफू नेपाली भएको’ पहिचान जुटाउनै एक वर्ष लागेको थियो ।
इस्लामाबादस्थित नेपाली दूतावासले सार्की थुनामा रहेको ३ महिनाअघि थाहा पाए पनि घर फिर्ती टिकट उपलब्ध गराउन नसक्दा थुना अवधि लम्बिँदै गएको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो ।
आर्थिक अवस्था कमजोर रहेका र फिर्ती टिकटको रकमसमेत जुटाउन नसकिरहेका सार्कीका बारेमा थाहा पाएर झापा, दुधेका व्यवसायी सन्तोष थोप्रा लिम्बूले टिकटसहित गुल्मीसम्म जाने खर्च उपलब्ध गराएका थिए । सार्कीलाई ‘रिसिभ’ गर्न पनि लिम्बू मंगलबार विमानस्थल पुगेका थिए ।














प्रतिक्रिया