– कृष्ण ओझा
पाँचथर, २० पुस । डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधवार भएको अन्तरक्वाटर फाइनलमा चर्च व्वाइजक्लब काठमाण्डौँलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा भएको खेलमा चर्च व्वाइजले सुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफको १२ औँ मिनेटमा चर्च व्वाइजका बर्षात गुरुङले प्रहार गरेको फ्रिकिक ताप्लेजुङका गोल रक्षकले रोकेपनि फर्किएको बललाई अजय मार्टिन कायोडेले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए ।
तर, अग्रता हाँसिल गरेको चर्च व्वाइजको कमजोर रक्षापंक्तिको फाइदा उठाँउदै ताप्लेजुङले पहिलो हाफको उत्तरार्धमा दुई गोल गर्न सफल भयो । ताप्लेजुङका लागि ३७ औँ मिनेटमा स्ट्राइकर निराजन खड्का तथा ४३ औँ मिनेटमा सेगुन यथिटयोले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए ।
पहिलो हाफमा १ गोलले पछि परेको चर्च व्वाइज दोश्रो हाफमा पनि लयमा फर्कन सकेन् भने ताप्लेजुङले खेललाई थप आक्रामक बनायो ।
ताप्लेजुङका लागि सेगुनले दोश्रो हाफको पहिलो मिनेट र ३७ मिनेटमा गोल गरे ।
यस्तै दोश्रो हाफको १० औँ मिनेट र इन्ज्युरी समयमा सुनीलबलले गोल गर्दै टिमको फराकिलो जीत सुनिश्चित गरे । सेगुनले ताप्लेजुङका लागि पहिलो र आठौँ फाल्गुनन्द गोल्डकपका लागि दोश्रो ह्याट्रिक पूरा गरेका छन् ।
यसअघि विर्ता युनाइटेड क्लब झापाका कर्ण लिम्बूले प्रतियोगितामा पहिलो ह्याट्रिक पूरा गरेका थिए ।
बुधवार अन्तिम क्वाटरफाइनल सकिएसँगै जारी आठौँ संस्करणको फाल्गुनन्द गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ ।
अब विहीवार आयोजक फिदिम स्पोर्टिङ क्लबले विर्ता युनाइटेडको सामना गर्नेछ । शुक्रवार बुधवारको विजेता ताप्लेजुङले एलेभेन एरोज सुनसरीको सामना गर्नेछ ।
१६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा सञ्चालित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् । गत पुस १५ गते सुरु भएको फाल्गुनन्द गोल्डकप आगामी आइतवारसम्म चल्नेछ ।
फोटोः रविन्द्र काफ्लेबाट ।
















प्रतिक्रिया