काठमाडौं, २५ भदौ । प्रधानमन्त्री सुशील कोइरालासँग चीनका पूर्व विदेश उपमन्त्री झाङ वाइ चाओको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल–चीनको द्विपक्षीय सम्बन्धबारे चर्चा गर्दै यस सम्बन्धलाई नयाँ उचाईमा पु¥याएर सौहार्द बनाउन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले नेपाल अहिले ६० वर्षभन्दा लामो समयसम्मको अथक सङ्घर्षले प्राप्त सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने अभियानमा रहेको बताउनुभयो ।
उहाँले जनताले खोजेजस्तो राजनीतिक व्यवस्था प्राप्त भएकाले अब नेपालको ध्यान शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान निर्माण र विकासमा केन्द्रित भएको पनि बताउनुभयो ।
उहाँले सडक, विमानस्थल, जलविद्युत् र पर्यटन जस्ता क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण बनेकाले त्यसतर्फ लगानी गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकरी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले प्रतिनिधिमण्डलका सदस्यहरुलाई गौतम बुद्धको जन्मस्थान पवित्र लुम्बिनीको दर्शन गरी शान्ति र अहिंसाको सन्देश लिएर फर्कन आग्रह गर्नुभएको थियो ।
प्रतिनिधि मण्डलमा अवोट जिफाङ महाविहार हङकङका भिक्षु मास्टर क्वान युङलगायत चीनको विभिन्न क्षेत्रका प्रतिनिधि समाविष्ट हुनुहुन्थ्यो । रासस















प्रतिक्रिया