२८ आश्विन २०८३, बुधबार

डटकम भाइरल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep bhattarai

सीपी अर्थात् कपी एन्ड पेस्ट फम्र्याटमा भाइरल सिर्जना गर्दैमा भर्खरै सुरु भएको नेपालको अनलाइन पत्रकारिताले आफ्नो अस्तित्व र अस्मिता जोगाउन सक्दैन । न यसले राज्यको चौथो अंगको गरीमा कायम गर्छ न समाजको वाचडगको भूमिका । आवाजविहीनको आवाज हुने र पत्रकारिताका आधारभूत सिद्धान्त एबीसीडीइएफको सम्मान गर्ने कुरा त धेरै टाढाको कुरा भयो ।


समाचार के हुन्छ भन्दा पनि के हुँदैन भन्ने एन्टी थेसिसको युगमा छौं हामी । आमसञ्चारका पण्डितहरु भन्छन्, गसिप, इतिहास, प्रपोगान्डा, तथ्य र साहित्य समाचार हैनन्, बाँकी सबै समाचार हुन् । यसको अर्थ तिनीहरुको सम्वन्ध समाचारसँग हुदैन भन्ने हैन, हुन्छ तर यति हो तिनीहरु आफैंमा भने समाचार हुदैनन् । यो आफैंमा गम्भीर सैद्धान्तिक विषय हो । यसका लागि क्लासरुपममा आमसञ्चारका आयामहरुको गम्भीर अध्ययन मात्र गरेर पुग्दैन न्युजरुममा त्यसको समुचित अभ्यास पनि हुनुपर्छ । हामी या त क्लासरुममा क्लासिक लेक्चर दिइरहेका छौ या न्यूजरुपमा त्यसको उछित्तो काढिरहेका छौं । कहिले पात्र एउटै छौं कहिले फरक । जो जहाँ छौं, नेपाली पत्रकारिताको फसल फाँडिरहेकाछौं । यस्तो अवस्थामा समाचार हुने नहुनेको थेसिस एन्टी थेसिसमा वहस होला भन्ने अपेक्षा गर्नु नै बेकार छ ।

प्रसंग नेपालमा कान्छो पत्रकारिताका रुपमा सुरु भएको डटकम पत्रकारिताको हो । यो न्युज पोर्टलको रुपमा भन्दा पनि ब्लगको नयाँ हाइब्रिड फर्ममा आउँदा समस्या सिर्जना भएको हो । अहिले यसले रफ्तारमा सीपी अर्थात् कपी पेस्ट जर्नालिज्मका रुपमा कुख्याती कमाइरहेको छ । अनि यसलाई भाइरल दिने काम भएको छ, सामाजिक सञ्जालमा । ट्विट्रमा त खासै भाइरलवालाहरुको पहुँच छैन, फेसबुकमा भने यसको इज्जत हैन, हुर्मत नै लिने काम भैरहेको छ । फेसबुकमा पोष्ट गरिने स्टाटस हेर्दा लाग्छ, फेसबुकेहरु जुगरवर्ग क्याफे एउटा डस्टविन हो जहाँ मुखमा पैदा भएका सारा विकार ट्यास गर्न नै फेसबुकेहरु जन्मिएका हुन् । आशा गरौं, दिन बित्दै जाँदा जुगरवर्गको अनुहारमा पोतिने फोहोर या दुर्गन्धको मात्र घट्दै जाला ।

आमसञ्चारमा एउटा प्रख्यात भनाइ छ, जे लुकाइन्छ त्यो समाचार हो, जे देखाइन्छ त्यो विज्ञापन हो । अनि ती दुई बीचको चाँहि एड्भोटरियल या इन्फोमर्सियल हो । यससँगै साइनो गासिएको विज्ञापनसँग सम्बन्धित भनाइ पनि छ, संसारमा हरेक कुरा दोहोरिन्छ तर त्यही स्वरुपमा हैन । यो भनाइ खासगरी मौखिक विज्ञापनका लागि धैरै प्रयोग हुन्छ । पूर्वका नारद हुन् या पश्चिमका पपुवानाचा, विश्वका पहिला विज्ञापनकर्मी यिनै हुन् । त्यसपछि विज्ञापन अनेक रुपमा आए पनि यताले भन्ने माउथ पब्लिसिटी होस् या उताकाले भन्ने वर्ड अफ माउथको केही न केही प्रभाव रही रह्यो । एक कान दुई कान मैदान भनिने हाम्रो उखान पनि यही भनाइको सार हो ।

वर्ड अफ माउथ हिजोआज बजको नयाँ अवतारमा आउको छ । यो एक कान दुई कान मैदान बनाउने कुरौटे विज्ञापनकै श्रृंखला हो । भित्ताको पनि कान हुने नेपाली समाज यसै पनि बज दिनमा माहिर छ । अनलाइनमा हुने बजलाई भाइरल भनिन्छ । यो सरुवा रोगजस्तै सर्ने हुनाले भाइरल भनिएको हो । प्रविधिको लोकतान्त्रिकरण जसलाई अमेरिकनहरु डेकोक्रेटाइजेसन अफ टेक्नोलोजी भन्छन् भाइरल यसैको सहउत्पादन हो ।

नेपाली डटकम पत्रकारिता शिशुकालमै गसिपले भाइरल दिने खेतीपातीमा लागेको छ । माइलादाइ हेडिंग राखेर फेसबुक टिजर स्टाटस हाल्यो, अनि सुरु गर्यो डटकम भाइरल । अहिले यो भाइरलले नुनलाई सुन र सुनलाई नुन बनाइरहेको छ । पछिल्लो समय अभिनेता श्रीकृष्ण श्रेष्ठको चलचित्र कोहिनुरको लागि इमोसनल ब्ल्याकमेलिंग गर्ने क्रममा होस् या गायिका अञ्जु पन्तको उछित्तो काढ्नमा भाइरलको अहम् योगदान छ । त्यसअघि मोदी फिवर सिर्जना गर्न र चरी अनि विचरीलाई लाइमलाइटमा ल्याउन पनि भाइरलले खास भूमिका खेल्यो । कान्तिपुर टेलिभिजनका दुई भिजेको कार चलेको गसिप अनि अभिनेत्री प्रियंका कार्कीको मालफंगसनिंग गसिपले पनि उधुम भाइरल मचायो ।

नेपालमा विभिन्न विटका डट कम भए पनि मनोरञ्जन डट कम भारी मात्रामा देखिएका छन् । त्यसमा पनि चलचित्रका डटकमहरुको संख्या अत्यधिक छ । वेभलग फम्र्याट सञ्चालित यी डटकमहरु मूलतः पेज थ्री जर्नालिज्मको ढर्राबाट ग्रस्त छन् । सन् १८३३ मा बेन्जामिन डेले निर्धारण गरेका पाँच समाचार मेनुहरु सेक्स, क्राइम, भ्वाइलेन्स, सेलिब्रिटी र प्रोक्सिमिटीबाट यिनीहरु माथि उठेकै छैनन् । सेक्स र सेलिब्रिटीले कम समाचार, बढी गसिप जन्माउँछ । अनि गसिप त समाचार नै हुदैन त्यो त भाइरल सिर्जना गर्ने भियग्रा मात्र हो । यस्तै भियग्रा मार्का पत्रकारिता नै अहिले नेपाली चलचित्र पत्रकारिताको मूलधार भएको छ ।

भेडा भेडासँग अनि बाख्रा बाख्रासँग भनेझैं त्यही सोच र कोण मिल्नेहरु नै नेपाली चलचित्रको मूलधारमा रहेकाले उनीहरु त्यस्तै पत्रकारितालाई अहिले अनेक कलेवरमा हात्ती गैडा सुघाइरहेका छन् । त्यसले तत्कालका लागि डटकम बज त सिर्जना गरिदेला तर प्रकारान्तरमा त्यसले ब्रान्ड भने बनाइदिदैन । त्यो अजिनोमोटोले नेपाली चलचित्रको पनि भलो गर्दैन । यही प्रवृतिका कारण नेपाली चलचित्रको प्राज्ञिक उन्नयन हुन नसकेको हो, यो मासबाट क्लासमा उक्लन नसकेको हो ।

प्रसंग पछिल्लो भाइरल श्रीकृष्णको निधन र स्वेताको आँसुको हो । एउटा सामान्य कथा सूत्रहरुमा बुनिएको एउटा औसत चलचित्र हो कोहिनुर । फ्राइडे रिलिजमा रहेको कोहिनुर शनिबार मध्यान्ह हुँदा होल्डओभर खसेर कतिपय हलबाट निकालिसकेको अवस्था थियो । तर, जब श्रीकृष्णको निधन भयो, त्यसपछि सिर्जना भएको बज र भाइरलले यसलाई एकाएक उकास्यो र हलहरुमा यसले पुनः प्रवेश पायो । त्यसपछि सिर्जना भएको भावनाको लहरले एउटा औसत चल्नुपर्ने चलचित्र धेरै चल्यो र त्यसले नेपाली चलचित्रका सारा बजार समीकरणहरु सिद्ध्याइदियो । कोहिनुरसँगै आएको शिसा चकनाचुर भयो, ताण्डव ताण्डब मचाउनबाट रोकियो, ठूलीले खासै पानी पिउन पनि पाएन । भावना फ्याक्टरलाई सम्मान गरौं, तर यो पनि त प्रश्न हो के कोहिनुरले त्यो व्यावसायिक सफलता डिजर्भ गर्छ ? विवेकलाई बन्धकी नराखी भन्ने हो भने गर्दैन । तर, कोही बोल्न तयार छैन, कसैले बोल्यो कि भाइरल आक्रमण भैहाल्छ । के यही हो विवेकशील नेपालर नेपाली चलचित्र उद्योग ? हैन । तर, जब हामी सत्यलाई स्वीकार्दैनौ, भावनामा बगेर फेब्रिकेटेड सत्यको पछि लाग्छौ, यो या त्यो नाममा कहिले फलानालाई कहिले ढिस्कानालाई अन्याय भै नै रहन्छ । आकाश अधिकारी निर्देशित कोहिनूरभन्दा उनले त्यसअघि निर्देशन गरेको काठमान्डू अब्बल थियो । तर, व्यावसायको कुरा गर्दा कोहिनुर न भूत न भविष्य भैदियो । यो तथ्य हो र हजार थोपा आँसु बटुलेर तर्क गरे पनि एउटा तथ्य त्योभन्दा भारी हुन्छ र हुनु पनि पर्छ ।

पत्रकारिताको सिद्धान्तमा एउटा भनाइ छ, संवेदना पत्रकारिताको सबैभन्दा ठूलो तगारो हो जसले अब्जेक्टिभिटीसँगै एउटा सुन्दर समाचारको चिहान खनिदिन्छ । त्यसैले एउटा ब्यावसायिक पत्रकार पहिला सञ्चारकर्मी अनि त्यसपछि मात्र सामान्य मान्छे हुनुपर्छ । अर्थात् पत्रकार या सञ्चारकर्मी भींडबाट निर्देशित सामान्य मान्छे नै हैन, ऊ त भिडलाई डोहोर्याउने एजेन्डा सेटर हो ।

यो भाइरल नसकिदै गायिका अन्जु पन्तको विपक्षमा अर्को भाइरल आयो । गौरवले भन्छु म हिन्दू हुँ तर यतिकै गौरवले अञ्जुले पनि भन्न पाउँनुपर्छ म क्रिश्चियन हुँ । अब उनले त्यसो भनिनन् भन्दैमा उनीविरुद्ध सबै सञ्चारकर्मीले शिवसेना नेपालकै कार्यकर्ताजस्तो भाइरल सिर्जना गर्नुपर्छ त ? उनले भनिसकिन् म बाट जानअन्जानमा कुनै गल्ती भए माफी चाहन्छु । मेरो नियत कसैको भावनामा चोट पुर्याउने हैन । योभन्दा ठूलो क्षमायाचना के हुन सक्छ ? गीत संगीतमार्फत् नेपालकै सेवा गरिरहेकी एउटी चेलीले कुनै अल्पमतको धर्म लिइन् भन्दैमा उनीविरुद्ध धर्मयुद्धकै घोषणा गर्न मिल्छ ? यो कस्तो किसिमको हिन्दूवादी सोच हो ? के यही नै हाम्रो आदर्श हो ? यदि हो भने मलाई हिन्दू हुनुमा गर्व हुनेछैन । यति सहिष्णुता नहुने पनि हिन्दू हुन सक्छ ?

यसमा भाइरलले जुन किसिमको माहौल बनाइरहेको छ, त्यो डटकम भाइरल पत्रकारिताका नाममा एक किसिमको कलंक नै हो । आफ्नै विषयको अस्मिता लुटिरहेको बेला कम्तीमा आमसञ्चार र पत्रकारिताका विद्यार्थी रमिते नहुनुपर्ने हो । किन, त्यसो भैरहेको छ मैले बुझ्न नसकेको सत्य पनि यही हो । यस्तै भाइरल प्रसंगहरुमा नेपाली डटकम पत्रकारिताको भाग्य र भविष्यका बारेमा चिन्तन गर्न जरुरी छ । आगे जो यसमा लागकेका छन्, उनीहरु नै जानुन् ।