१ कार्तिक २०८३, आइतबार

एनआरएन अध्यक्षबाटै मानव तस्करी, यस्तो छ युरोप पुगेका युवाको बिलौना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशमा रहेका आप्रवासी नेपालीहरूको हक–हितका लागि भन्दै गैरआवासीय नेपाली संघ (एनआरएन)को अवधारणा आएको लामो समय भइसकेको छ । तर, यही पवित्र उद्देश्य राखेर स्थापना भएको एनआरएनका संगठनहरूमा कैयन अपवित्र कामहरू हुन थालेको गुनासो ह्वात्तै बढ्न थालेको छ । यही मेसोमा एनआरएन, पोर्चुगल शाखाका केही पदाधिकारीहरूमाथि मानव तस्करीमा सक्रिय हुँदै नेपालीहरूको विजोग बनाउने काममा लागेको आरोप त्यहीका पीडित कामदारहरूबाट लागेको छ ।

पोर्चुगलमा गएका नेपालीहरू ठगिइएको खबर प्रकाशमा आइरहेका बेला गैरअवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष भीम केसी कमललगायतमाथि यस्तो आरोप लगाइएको हो । स्रोतका अनुसार, कमलले भर्सटायल सोलुसन कम्पनीको नाममा ५०० भन्दा बढी मान्छे नेपालबाट लगेका छन् । कमलले विगत लामो समयदेखि नेपालबाट करार सम्झौता गरेर कामदार लैजाने र त्यहाँ लगेर सम्झौताविपरीत नेपालीहरूलाई विभिन्न कम्पनीहरूमा बेच्ने गरेको पीडित नेपालीहरूको गुनासो छ । ‘कमल आप्रवासी नेपालीको पक्षमा चर्को कुरा गर्छन्,’ उनीबाट ठगिएका एक नेपालीले भने, ‘तर, उनले नेपालबाट कैयन सीधासाधा नेपालीलाई लगेर करार सम्झौता अनुसारको काममा नलगाइ अन्यत्र लगाउने गरेका छन् ।’ कमल जस्तै एनआरएन, पोर्चुगल शाखाका पूर्व उपाध्यक्ष हेमन्त सेढाइँले पनि कम्पनी चलाएर नेपाली कामदार लैजाने गरेका छन् । उनले चितवनका कामदार लैजाने गरेको बताइन्छ । सेढाईले लगेका कैयन कामदारले ठगिएको भन्दै एनआरएन तथा बाणिज्य दूतावासमा कम्प्लेन गर्ने गरे पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

एनआरएनले जस्तै अन्य विभिन्न संस्थाको आडमा समेत नेपालबाट मानव तस्करी भइरहेको छ । यसको उदाहरणका रुपमा नवीन गिरीलाई लिन सकिन्छ । उनले कास्की समाजका नाममा नियमविपरीत २३ कामदार इरानको बाटो हुँदै लगे पछि केही समयअघि पोर्चुगलको प्रहरीले पक्राउ गरेको थियो । उनी हाल पोर्चुगलको जेलमा छन् ।

राजदूत र वाणिज्य दूतकै संलग्नता

स्रोतका अनुसार, पोर्चुगलमा कामको खोजीमा गएका नेपालीहरू दिन प्रतिदिन ठगिंदै छन् । ठगिएकै कारण कैयन सेल्टरहरूमा नेपालीको बाक्लो उपस्थिति देखिने गरेको छ । यस्तो रिपोर्ट वाणिज्य दूतावास तथा पोर्चुगल समेत हेर्ने फ्रान्सका राजदूत अम्बिकादेवी लुइँटेलसम्म नपुगेका पनि होइनन् । तर, राजदूत लुइँटेल र वाणिज्य दूतले यसमा चासो दिने गरेका छैनन् । बरु उनीहरूले नेपालबाट कामदार पठाउन कम्पनीहरूलाई अनुमति दिइरहेका छन् ।

स्रोतका अनुसार, कम्पनीहरूले राजदूत र वाणिज्यदूतसम्म दान दक्षिणा चढाउने गरेकाले उनीहरू आफ्नो जिम्मेवारीबाट पन्छँदै कामदार पठाउन अनुमति दिइरहेका हुन् । ‘नेपालबाट मान्छे ल्याउने धन्दामा राजदूत लुइँटेल र वाणिज्यदूत हमाल आफैं छन्,’ स्रोतले भन्यो, ‘त्यसैले उनीहरू नेपालीले प्रतिदिन दु:ख पाइरहँदा समेत कामदार ल्याउन अनुमति दिइरहेका छन् ।’ स्रोतका अनुसार, कम्पनीहरूलाई कामदार ल्याउन सिफारिस गरिदिएवापत ५ सय युरो पाइने भएकाले वाणिज्य दूत र राजदूत यो धन्दामा ज्यान फालेर लागेका छन् । कामदारहरूले नेपालले पठाएका प्रतिनिधिहरू नै कमाउधन्दामा लाग्दा अतिचार बढ्दै गइरहेको भन्दै न्यायका लागि सबैसँग आग्रह गरेका छन् । (साँघु साप्ताहिक)