काठमाडौं, २५ भदौ । स्वदेशमा उच्च शिक्षाका लागि विश्वसनीय र गुणस्तरीय संस्था नहुँदा विगत ५ वर्षयता मुलुकबाट १ लाख ८ हजार विद्यार्थीसँगै १ खर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ ।
शिक्षा मन्त्रालयको स्वीकृतिमा बिदेसिने विद्यार्थीको तथ्यांक हिसाब गर्दा मुलुकले उच्च शिक्षाका नाममा यो रकम गुमाएको हो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक भारतबाहेक ७१ मुलुक हो ।
मन्त्रालयले ‘नो-अब्जेक्सन लेटर’ लिएर जाने विद्यार्थीले बैंकिङ प्रणालीमार्फत विदेशका शैक्षिक संस्थालाई अग्रिम शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । बिदेसिने विद्यार्थीबाट सरकारले १ प्रतिशत शुल्क लिएर बैंकमार्फत डलर पठाइदिने गरेको छ ।
मन्त्रालयको स्वीकृति लिएर आव ०७१–७२ मा मात्रै २८ हजार १ सय २६ बिदेसिएका छन् । मन्त्रालयको छात्रवृत्ति महाशाखाका उपसचिव प्रकाश महर्जनका अनुसार यो संख्या अहिलेसम्मकै उच्च रहेको समाचार आजको कारोवार दैनिकले छापेको छ ।
शैक्षिक परामर्श संघ अध्यक्ष राजेन्द्र बरालले नेपालबाट बिदेसिने विद्यार्थीले ७ देखि १७ लाख रुपैयाँसम्म खर्चिने गरेको जानकारी दिए । नेपालमा गुणस्तरीय शिक्षा अभावमा विद्यार्थी बाहिरिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको उनले बताए । प्रतिविद्यार्थी १० लाखलाई खर्चको आधार मान्दा ५ वर्षमा विद्यार्थीबाट १ खर्ब ८३ अर्ब रुपैयाँ बाहिरिएको छ ।
अध्ययनका लागि गत वर्षमात्रै अस्ट्रेलियामा ११ हजार १ सय ८४ विद्यार्थी गएका छन् । जापानमा ७ हजार ९ सय ३३ र अमेरिकामा १ हजार ४ सय ५६ विद्यार्थी गएको तथ्यांक छ ।















प्रतिक्रिया