३० आश्विन २०८३, शुक्रबार

दसैँको तयारीमा सरकार, दोहोरो टिकट काट्नेलाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौ, २५ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दसैंको अवधिमा उपत्यकाबाट ठूलो संख्यामा मानिसहरू बाहिरिने र पर्व सकिएपछि फर्किने हुँदा यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन, सुरक्षित रूपमा यातायात सञ्चालन गर्न र त्यसको प्रभावकारी अनुगमन गर्न सम्बन्धित संस्था र निकायहरूलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयमा सचिव शान्तराज सुवेदीको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा, यातायात व्यवसायी महासंघ, वायुसेवा सञ्चालक संघ र उपभोक्ता मञ्चका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले दसैंको समयमा टिकटमा कालोबजारी हुन नदिन र यात्रुलाई सहज यात्रा गराउन त्यस्तो निर्देशन दिएको हो ।

सरकारले दर्सैको पूर्वसन्ध्यामा गाडी भाडा बढाउँदा उपभोक्ता मर्कामा पर्ने भएकाले दसैंअघि भाडा नबढाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ । बढो इन्धन मूल्य र मर्मत खर्चअनुरूप भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको भए पनि सरकारले दसैं अगाडि भाडा नबढाउन निर्देश गरेको हो ।

प्रधानमन्त्री कार्यालयले यातायात व्यवस्था विभाग र व्यवसायीहरूबीच भएको सहमतिअनुरूप भदौदेखिमात्र अग्रिम टिकट बुकिङ खुला गर्न, सिट क्षमताभन्दा बढी टिकट नकाट्न, एउटै सिटमा दुइटा टिकट बुकिङ नगर्न, पहिलो खरिदकर्तालाई सिट उपलब्ध गराउन, दोहोरो टिकट काट्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । महिला र अपांगता भएका व्यक्तिहरूका लागि आरक्षित सिटमा अन्यलाई यात्रा नगराउनसमेत निर्देशन दिइएको छ ।

सरकारले छ घन्टाभन्दा लामो रुटमा चल्ने गाडीमा अनिवार्य रूपमा २ जना चालकको व्यवस्था गर्न, सबै यात्रुको विवरण र दुवै चालकको नामसहितको विवरण तीन प्रति बनाई एउटा ट्राफिक प्रहरीलाई उपलब्ध गराउनसमेत निर्देश गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रधानमन्त्री कार्यालयले टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य रूपमा परिचयपत्र लगाउने व्यवस्था गर्न, सबै टिकट काउन्टरबाटै बिक्री गर्न, बिचौलियालाई प्रवेश नदिन तथा सिट क्षमताभन्दा बढी यात्रु नराख्नसमेत सम्बन्धित यातायात व्यवसायीलाई सचेत गराएको छ ।

यात्रुहरूलाई टिकट खरिद, सवारी साधन आवागमन एवं गाडी छुट्ने स्थान र समयको जानकारी दिन उपत्यका भित्र र बाहिर सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई सहयोग पुर्‍याउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ ।