काठमाडौ, २४ भदौ । सुस्त कार्यशैलीका कारण आलोचित प्रधानमन्त्री सुशील कोइराला पछिल्लो समय पारिवारिक घेराबन्दीबाट उम्कन नसकेपछि थप आलोचित बनेका छन् ।
सुस्त प्रधानमन्त्रीको आरोप खेपिरहेका कोइरालालाई उनकै परिवारभित्रका सदस्यले पार्टीबाट सम्बन्ध बिच्छेको अवस्थामा पुर्याएको बताइन्छ । अस्वस्थताको कारण सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयसम्म पुग्न नसकेका कोइरालालाई बालुवाटारभित्रै कैद गरिएको गुनासो बढ्दो छ । सोमबार बालुवाटारमा भएको संसदीय दलको बैठकमा पनि केही सभासद्ले त्यस्तो गुनासो गरेका थिए ।
परिवारका सदस्यले नचाहेको अवस्थामा आफ्नै संसदीय दलका नेतालाई भेट्न पनि मुस्किल परेको भन्दै केही सभासद्ले असन्तुष्टि जनाएको बताइएको छ । यतिखेर प्रधानमन्त्रीको प्रमुख राजनैतिक सहयोगीका रुपमा बीपी कोइरालाका कान्छा छोरा शशांक कोइराला क्रियाशील छन् । तर, उनलाई औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीले राजनैतिक निर्णयदेखि नियुक्तिसम्ममा शशांकको साथ लिने गरेका छन् । कोइरालाको भेटघाट हेर्ने जिम्मा भतिज अतुल कोइरालाले गर्दै आएका छन् । उनी प्रधानमन्त्रीका दाइका छोरा हुन् । प्रधानमन्त्रीको सचिवालयका सहसचिवको हैसियतमा नियुक्त गरिएका अतुलसँग सम्पर्क बिना कांग्रेसकै नेताहरूले समेत अहिले भेट पाउने अवस्था छैन । अतुलले नचाहँदा थुप्रपटक प्रधानमन्त्री कार्यालयको ३ नम्बर गेटाबाटै बाहिरिनुपरेको गुनासो केन्द्रीय सदस्य र सभासद्ले गर्दै आएका छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवमा भान्जा रमेश भण्डारीलाई नियुक्त गरिएको छ । अहिलेका स्वकीय सचिव भण्डारीकी श्रीमती प्रभा पनि प्रधानमन्त्री सचिवालयमा नै रहेकी छिन् । उनी अहिले प्रधानमन्त्रीलाई प्रभाव पार्न सक्ने हैसियतमा पुगेको स्रोतको दाबी छ । प्रधानमन्त्रीको ‘किचन क्याबिनेट’मा प्रभावशाली अर्की महिला मृदुला पनि कोइरालाको नातेदार नै हुन् । उनी प्रधानमन्त्रीकी सानिमाकी देवरकी छोरी हुन् । तर भान्जी बुहारी प्रभा र मृदुलाको सम्बन्ध राम्रो नरहेको बालुवाटार स्रोत बताउँछ । मृदुलालाई कोइरालाले दुई हप्ताअघि मात्र मन्त्रिपरिषद्बाटै अनुमोदन गरेर जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका छन् । कोइराला परिवार बाहिरका एकमात्र व्यक्ति लक्ष्मण ढकाल प्रधानमन्त्री सचिवालयबाट बाहिरिसकेका छन् । उपचार गरेर अमेरिकाबाट फर्किए लगत्तै ढकाललाई सेवा आवश्यक नरहेको भन्दै पत्र थमाइएको थियो । आफूलाई स्वकीय सचिवबाट हटाउन मृदुलाको भूमिका रहेको आरोप ढकालले लगाएका थिए । प्रधानमन्त्रीका अर्का स्वकीय सचिवमा वसन्त गौतमलाई नियुक्त गरिएको छ भने प्रधानमन्त्री निवासको व्यवस्थापन सवीर खनालले हेर्छन् । गौतम कांग्रेस पार्टी कार्यालयका सचिव थिए । खनाल बाँकेका हुन् । प्रेस संयोजकमा भने प्रकाश अधिकारी रहेका छन् । प्रधानमन्त्रीको सहयोगीमा हुर्मत न्यौपाने र सागर खनाललाई पनि नियुक्ति दिइएको छ । तरुण दलका पूर्वमहासचिव न्यौपाने बाँकेका हुन् । उनले कोइरालालाई बाँकेबाट निर्वाचनमा विजयी बन्न सहयोग गरेका थिए ।
कोइराला यसरी परिवारवादमा फकेपछि पार्टीभित्रै उनको आलोचना बढेको हो । पार्टी सभापतिसमेत रहेका कोइरालाले सात महिनाभन्दा बढीदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छैनन् । बैठक आह्वान गर्दै केही केन्द्रीय सदस्यले हस्ताक्षर नै गरेर कोइरालालाई बुझाएको पनि दुई महिना भइसक्यो । कांग्रेसका एक नेता भन्छन्, ‘पार्टी सभापति परिवारका भरमा चलेका छन्, पार्टी र सरकार भगवान भरोसे चलेको छ ।’
















प्रतिक्रिया