
काठमाडौं, ८ पुस । नेपाली सेनालाई आफ्नो सेनामातहत परिचालन गर्ने भारतको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।
संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाति भन्दै आन्दोलनमा रहेको एमालेले यसलाई अर्काे ‘राष्ट्रघाति’ प्रस्ताव भनेको छ । र, प्रचण्ड नेतृत्वको वर्तमान सरकारको गलत नीतिका कारणले आएको निष्कर्ष निकालेको छ ।
एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले संयुक्त राष्ट्रसंघको सफल र प्रभावकारी सेना बनेको नेपाली सेनालाई भारतले आफ्नो सेना मातहत खटाउने प्रस्ताव गर्नु आपत्तिजनक रहेको बताए । ‘यूएनमा सफल र प्रभावकारी भुमिका निभाएको नेपाली सेना आफैं सक्षम छ,’ पोखरेलले दैनिक नेपालसँग भने- ‘हामीलाई अरु कसैको सहारा चाहिंदैन् ।’
उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउँदा गरिएको ‘कोर्स करेक्सन’को परिणाम अहिले देखिएको बताए । ‘कोर्स करेक्सनको परिणाम नै त होला नेपाली सेनालाई भारतीय सेनाको मातहत शान्ति मिसनमा पठाउन भारतीय पक्षले लविङ सुरु गर्यो । यो त अति नै भएन र ?
वर्तमान सरकारको गलत नीतिका कारणले गर्दा देशमा बाह्य चलखेल बढेको भन्दै नेता पोखरेलले राष्ट्रसंघमा सफल मानिएको नेपाली सेनालाई समेत कमजोर पार्ने कोसिस भइरहेको बताए । ‘सरकारले नीति परिवर्तन गर्नुपर्छ । राष्ट्रिय स्वाधिनताका पक्षमा उभिनुपर्छ,’ उनले भने- ‘कसैको आदेश र निर्देशनमा राष्ट्रलाई कमजोर पार्ने काम गर्नुहुँदैन् ।’
विभिन्न बहानामा भारतबाट यस्तो प्रस्ताव आउनु नेपाली सेनाको प्रतिष्ठातामा आघात पुर्याउने कोसिस भएको उनको भनाई छ ।
भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेनामातहत परिचालन गर्न नेपाली अधिकारीहरुसँग पटक पटक प्रस्ताव र दबाब दिँदै आएको छ । र, अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार हुँदा ‘राजनीतिक लबिङ’ समेत थालेको छ ।
यसको जानकारी पाएलगत्तै नेपाली सेनाले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । साथै त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सचेत गराएको छ । र, कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न सरकारलाई अनुरोध गरिसकेको छ ।
भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने प्रस्ताव नेपालसमक्ष राखेको हो ।











प्रतिक्रिया