काठमाडौं, ७ पुस । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।
व्यवस्थापिका संसदको अंकगणितीय नतिजाअनुसार मधेसी मोर्चाले समर्थन गरेपनि अहिलेको प्रस्ताव पारित हुनसक्दैन् ।
प्रस्तावको विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपक्षी गठबन्धन बनाएको छ । जसमा संसदमा प्रतिनिधित्व गर्ने ९ दल समावेश छन् । यसअघि ८ दल रहेको गठबन्धनमा विहिबार विश्वेन्द्र पासवानको पार्टी पनि समावेश हुँदा ९ दलीय गठबन्धन बनेको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार विपक्षी ९ दलको गठबन्धनसँगै संशोधन प्रस्ताव पारित नहुने पक्का भएको हो ।
‘पहिला त संशोधन प्रस्ताव संसदमा जाँदैन् । सरकार फिर्ता लिन बाध्य हुन्छ,’ उनले भने- ‘त्यसो भएन् भने पास हुन दुईतिहाई मत चाहिन्छ । त्यो अब सत्तापक्षसँग छैन् । हामीलाई प्रस्ताव फेल गर्न १९८ आवश्यक थियो । तर, ९ दलीय गठबन्धनमा जोड्दा विपक्षमा २०३ मत पुग्छ । त्यसकारण संशोधन प्रस्ताव सिधै फेल हुन्छ ।’
कांग्रेस, माओवादी नेतृत्वको सरकारलाई अब राप्रपा, मधेसी मोर्चाले समर्थन गरेपनि प्रस्ताव पारित नहुने श्रेष्ठको जिकिर छ । ‘कांग्रेस माओवादीकै कतिपय नेताहरु विपक्षमा छन् । यो हिसाबले हेर्ने हो भनेपछि प्रस्ताव पारित हुँदैन् । पासै नहुने प्रस्ताव किन फिर्ता नलिने ?’ श्रेष्ठले प्रश्न गरे ।












प्रतिक्रिया