काठमाडौं, ७ पुस । मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकलाई विभाजन गर्न खोजेको आरोप लगाएको छ ।
बिहीबार संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बसेको बैठकले एमालेका गतिविधि प्रतिगमनकारी भएको निष्कर्ष निकालेको हो ।
‘संविधान संशोधन विरोधको नाममा एमालेले दिएको नश्लीय अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुता भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मूख रहेकाले राष्ट्रिय एकतालाई कमजोर पारी मुलुकलाई अनिश्तित गृहयुद्धतिर धकेल्ने एमालेका गतिविधिको हामी घोर भत्र्सना गर्दछौं,’ बैठकपछि संयोजक उपेन्द्र यादवले जारी गरेको वक्तव्यमा भनिएको छ– ‘तसर्थ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रजस्ता उपलब्धि धरापमा पार्ने प्रतिगमनकारी गतिविधि एमालेले तत्काल बन्द गर्नुपर्छ ।’
गठबन्धनले सरकारद्वारा संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको पनि स्वामित्व लिन अस्वीकार गरेको छ र, तीनबुँदे सहमति अनुसार प्रस्ताव परिर्माजन गरी संसदमा प्रक्रिया अघि बढाउन माग गरेको छ ।
साथै, एक साताभित्र काठमाडौंमा अन्तरक्रिया गर्ने र लगतै १० प्रदेशमा अन्तरक्रिया थरी आन्दोलनका लागि जनमत निर्माण गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा उपेन्द्र यादवसहित फोरम वरिष्ठ नेता अशोक राई, सद्भावना पार्टी महासचिव मनीषकुमार सुमन, प्रवक्ता सन्तोष मेहता, रामसपाका उपाध्यक्ष शेखर सिंह, महासचिव केशव झा, सचिव गजेन्द्र मण्डल, नेपा पार्टीका विजय सैंजुलगायत सहभागी थिए ।













प्रतिक्रिया