पर्सा, ६ पुस । तराई– मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता एवं मधेसी मोर्चाका नेता विमलप्रसाद श्रीवास्तवले प्रमुख प्रतिपक्षी एमालेले संविधान कार्यान्वयनका लागि संशोधनमा मद्दत गर्नुपर्ने बताउनुभएको छ ।
संशोधनको विरोधमा आन्दोलनमा रहेको एमालेलाई कांग्रेस र माओवादीले सहमतिमा ल्याउन नसकिरहेका बेला तराई– मधेस लोकतान्त्रिक पार्टी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रीवास्तवले संविधान संशोधन र कार्यान्वयनमा सहयोग गर्न एमालेलाई आग्रह गर्नुभयो ।
नेता श्रीवास्तवले संसद् सुचारु नभए तोकिएको मितिमा कुनैपनि निर्वाचन नहुने र संविधान कार्यान्वयनमा जटिलता थपिने भएकाले मुलुकलाई निकास दिन र निर्वाचनको वातारण निर्माण गर्न एमालेले मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।
संसद्लाई अवरुद्ध गरी मुलुकलाई अर्निणयको बन्दी बनाउने कार्य उपयुक्त नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘जटिल अवस्थामा रहेको मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षको दायित्व भए पनि आफै संसद्लाई अवरुद्ध गर्नु उपयुक्त होइन् ।’
पाँच नम्बर प्रदेशमा तराईबाट पहाडी जिल्ला अलग्याउनेगरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावविरुद्ध एमालेसहित ८ विपक्षी दल आन्दोलनमा छन् । रासस












प्रतिक्रिया