गाईघाट (उदयपुर), २४ भदौ । कतारमा मृत्यु भएको श्रीमानको शव घरमा ल्याएकै दिन पीडा सहन नसकेर जिल्लाका त्रियुगा नगरपालिका–१७ गैरुनकी एक महिलाले सोमबार घरभित्र विष सेवन गरेर आत्महत्या गरेकी छिन् ।
गैरुनको २४ वर्षीया सङ्गीता बातर (सदा)ले सोमबार श्रीमानको शव घरमा ल्याएपछि घरभित्र नै विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
वैदेशिक रोजगारमा कतारमा काम गर्दै आएका सङ्गीताका श्रीमान् ३४ वर्षीय हरि सदाको गत साउन २५ गते कतारमा भवन निर्माण गर्ने क्रममा ६ तलाको भवनबाट लडेर मृत्यु भएको थियो ।
सङ्गीताले आत्महत्या गरेपछि श्रीमान् तथा श्रीमती दुवैको शवलाई सोमबार नै प्रहरीले शवपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जयराम सापकोटाले बताउनुभयो ।
आमाबुबा दुवैको मृत्युपछि उनीहरुका ६ महिनाको छोरो उत्तम तथा ८ वर्षकी छोरी उषा बिचल्लीमा परेको सङ्गीताकी दिदी ईश्वरी सदाले बताइन् । रासस
















प्रतिक्रिया