१ कार्तिक २०८३, आइतबार

जनजाति महासंघको निर्वाचनमा एमालेले उम्मेदवार पाएन !

11.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आउन नेकपा एमालेनिकट उमेदवारलाई रोक्ने प्रयास गरिएको छ ।

चितवनमा जारी महासंघको ९औं महाधिवेशनको निर्वाचनका लागि एमालेलाई एक्लो बनाएर गठबन्धन बनाइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

एमाले पार्टी नेतृत्व पहिचानको विपक्षमा रहेकाले महासंघमा एमालेलाई पाखा लगाउन खोजिएको बताइएको छ । मंगलबार राति नै मतदान हुनेछ भने यसका लागि कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपाबीच गठबन्धन बनेको छ ।

चार दलीय गठबन्धनबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि क्रमशः जगत बराम, नित्यानन्द ताजपुरिया र मुकुन्द पहरीलाई उठाइएको छ । बराम कांग्रेस, ताजपुरिया संघीय समाजवादी फोरम र पहरी माओवादी केन्द्र निटकका हुन् । राप्रपालाई भने महासंघको उपाध्यक्ष दिइने बताइएको छ ।

यसअघि महासंघको नेतृत्वका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम चार ओटै दलले दाबी गरेका थिए । एमालेबाट सूर्य भुजेल, कांग्रेसबाट जगत बराम, माओवादी केन्द्रबाट ङवाङ शेर्पा र संघीय समाजवादी फोरमबाट नित्यानन्द ताजपुरियाले अध्यक्षको दाबी गरेका थिए ।

किरात राई यायोक्खाबाट सर्वधन राईले पनि अध्यक्षका लागि दाबी गरेका थिए । तर, उनी पनि एमाले निकट हुन् । चार दलीय गठबन्धन बनेपछि अबको जनजाति महासंघबाट एमाले पाखा लाग्ने सम्भावना बढेको छ ।

एक्लो परेको एमालेको तर्फबाट भने अध्यक्षका लागि सूर्य भुजेलले उमेदवारी दर्ता गराएका छन् । त्यस्तै अध्यक्षकै दाबी गर्दै आएका सर्वधन राईले उपाध्यक्षमा उमेदवारी दिएको चितवनबाट गोविन्द छन्त्यालले बताए ।

एमालेलाई महासंघको २१ सदस्यीय पदाधिकारी तहको उम्मेदवार पु¥याउन समेत कठिन परेको बताइएको छ । जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरुको सामाजिक संस्था भए पनि पछिल्लो कालमा महासंघ दलीय राजनीति गर्ने थलो बन्दै गएको छ ।

महासंघको अधिवेशन र निर्वाचनमा जातीय संस्थाबीचको समिकरण भन्दा पनि दल विशेषको मोर्चाबन्दी र समिकरण हुने गरेको छ ।

महासंघको अघिल्लो महाधिवेशनबाट कांग्रेसका तर्फबाट नगेन्द्र कुमाल अध्यक्ष र एमालेबाट पेम्बा भोटे महासचिव बनेका थिए । तर अघिल्लो पटकको निर्वाचनमा दलीय भन्दा पनि अल्पसंख्यक र बहुसंख्यक जनजातिबीच समिकरण भएको थियो ।

महासंघअन्तर्गत राई, लिम्बू, तामाङ, मगर, नेवार, गुरुङ, शेर्पा आदि बहुसंख्यक जनजातिभित्र पर्दछन् । महासंघको नेतृत्व बहुसंख्यकहरुले नै गर्दै आएको भन्दै अब अल्पसंख्यकको नेतृत्व हुुनुपर्ने नारा चर्किएपछि नगेन्द्र कुमाल अध्यक्ष बनेका थिए ।

कुमाल र भोटे दुवै समुदायत रुपमा अल्पसंख्यक मानिन्छन् । तर, यसपटक भने दलीय समिकरण र भागबन्डामै छलफल चलिरहेको बताइएको छ ।

महासंघको अध्यक्ष चयनका महासंघमा आवद्ध ५६ जातीय संस्थाले एक भोट दिन पाउने व्यवस्था छ । चार दलीय गठबन्धनसँग ३० देखि ४० भोट रहेको संघीय समाजवादी फोरमबाट महासचिवको उमेदवार बनेका ताजपुरियाले दाबी गरे ।

आगामी तीन वर्षको महासंघको नयाँ नेतृत्वमा आफ्नो बर्चश्व स्थापित गर्नका लागि कांग्रेसले आइबी गुरुङ, एमालेले पृथ्वी सुब्बा गुरुङ, माओवादीले वर्षमान पुन र संघीय समाजवादी फोरमले रकम चेम्जोङलाई खटाएको स्रोतले जनाएको छ ।