३० आश्विन २०८३, शुक्रबार

मजदुरमा घट्यो ‘माओवादी मोह’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, २४ भदौ । एकीकृत नेकपा माओवादीप्रति मजदुरको आकर्षण स्वात्तै घटेको पाइएको छ। कुनै समय ३ लाख हाराहारी मजदुर सदस्य रहेको भनिएको पार्टीनिकट मजदुर संगठनमा अहिले ४० हजार मात्र संगठित छन्।

छैटौं महाधिवेशन तयारीमा रहेको अखिल नेपाल ट्रेड युनियन महासंघमा ४० हजार मजदुरले मात्र सदस्यता नवीकरण गराएको विवरण केन्द्रीय कार्यालयमा पठाइएको छ।

भदौ २९–३१ राजधानीमा सम्पन्न हुने महाधिवेशन तयारीका क्रममा सदस्यता नवीकरण गरेको केहीको मात्र विवरण आउन बाँकी रहेको संगठनले जनाएको छ।

सशस्त्र द्वन्द्व समाप्त गरेर शान्ति प्रक्रियामा आएपछि तलब बढाउन तथा अन्य सुविधा दिलाउन माओवादी मजदुर संगठनले खेलेको भूमिकाका कारण मजदुरको आकर्षण बढेको थियो। तर, मजदुरको आकर्षण सात वर्षको अन्तरालमा अप्रत्याशित घट्दो देखिएको छ।

महासंघका अध्यक्ष शालिकराम जमकट्टेलले अहिलेसम्म ४० हजार मजदुरले सदस्यता नवीकरण गरेको जानकारी दिँदै केही स्थानबाट विवरण आउन बाँकी रहेको बताए। ‘संगठन चुस्त–दुरुस्त बनाउन सदस्यता नवीकरणमा कडाइ गरिएकाले संख्या कम देखिएको हो,’ उनले भने, ‘संगठनप्रति आकर्षण घटेको होइन।’

विगतमा माओवादीले विभिन्न सभा गर्दा मजदुरलाई नै मुख्य रुपमा सडकमा उतार्ने गरेको थियो। माओवादीले आयोजना गर्ने मजदुर दिवस अन्य पार्टीका मजदुर संगठनले गर्नेभन्दा भव्य र सानदार हुन्थे।

तर, शान्ति प्रक्रियामा आएलगत्तै खुलामञ्च भरिभराउ गरी मनाइएको मजदुर दिवस बिस्तारै भृकुटीमण्डपको चौर हँदै पछिल्लो समय कोठामा सीमित हुन थालेको छ। छैटौं महाधिवेशनको उद्घाटन सत्र नै नेपाल प्रज्ञा भवन, कमलादीमा राखिएको छ।

महाधिवेशन प्रयोजनका लागि लागि ट्रेड युनियनले भदौ मसान्तसम्म मासिक ३० रुपैयाँका दरले पाँच महिनाको एकमुष्ट १ सय ५० र नवीकरण शुल्कबापत १० सहित १ सय ६० रुपैयाँ संकलन गरिसकेको छ। जसअनुसार महाधिवेशन प्रयोजनका लागि सदस्यता नवीकरण गर्ने ४० हजार सदस्यबाट करिब ६४ लाख रुपैयाँ संकलन गरिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

युनियन महासचिव गणेश रेग्मी पार्टी विभाजन र आन्तरिक विवाद समाधान हुन नसक्दा तथा दोस्रो संविधानसभा निर्वाचन परिणामले पनि सदस्यता नवीकरणमा प्रभाव परेको बताउँछन्।