काठमाडौं, ५ पुस । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नदिन अमेरिकी राजदूतको ध्यानाकर्षण गराएका छन् ।
ओलीलाई भेट्न मंगलबार एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेकी राजदूत अलाइना बी टेप्लिजले संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो राखेपछि ओलीले यो नेपालको आन्तरिक विषय भएको भन्दै अनावश्यक चासो नदिन ध्यानाकर्षण गराएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको जताततै विरोध भइरहेको बेला भेट्न आएकी अमेरिकी राजदूतलाई ओलीले नेपालको समस्या नेपालीहरुले नै मिलेर समाधान गर्न समक्ष रहेको भन्दै सचेत गराएका थिए ।
भेटमा सहभागी नेम्वाङका अनुसार ‘संविधान संशोधन प्रस्ताव जनता र राष्ट्रको हितविपरित आएकाले विरोध गरेका हौं,’ ओलीले राजदूत टेप्लिजलाई भने- ‘यो हाम्रो आन्तरिक विषय हो । कसैले पनि अनावश्यक चासो दिनु उपयुक्त हुँदैन् ।’
ओली र राजदूत टेप्लिजबीच संविधान कार्यान्वयन र निर्वाचनबारे पनि छलफल भएको एमालेले जनाएको छ ।
एमालेले संविधान कार्यान्वयनका लागि सबै खालको सहयोग गर्ने तत्परता देखाएपनि संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान लिँदै आएको छ । र, सत्ता पक्षले कुनै हालतमा फिर्ता नलिने भन्दै आएको छ ।
यो समयमा नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर युरोप र अमेरिकन राजदूतहरुले नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिँदै पक्ष र विपक्षमा लबिङ गर्न थालेका छन् ।












प्रतिक्रिया