३ कार्तिक २०८३, मंगलबार

केन्द्रीय सदस्य कारबाही प्रकरणले वैद्य माओवादीमा झगडा, नेत्रविक्रमले दिए चुनौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-sharma

काठमाडौँ, २३ भदौ । नेकपा–माओवादीले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनिश्चितकालसम्मका लागि निलम्बन गरेको प्रकरणले पार्टीभित्र झगडा बढेको छ ।

पार्टी महासचिव रामबहादुर थापा बादलले विज्ञप्तिमार्फत केन्द्रीय सदस्य शर्मालाई कारबाही गरेको घोषणा गरेलगत्तै सचिव नेत्रविक्रम चन्दले पनि विज्ञप्ति जारी गर्दै चुनौती दिएका छन् ।

केही दिन पहिले चितवन जिल्ला पार्टी कार्यालयको विषयलाई लिएर शर्माले प्रेस वक्तव्यमार्फत पार्टी नेतृत्वलाई आरोप लगाएको भन्दै कारबाही गरिएको महासचिव रामबहादुर थापाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

एकीकृत नेकपा(माओवादी)मा विभाजन आउनुभन्दा पहिले निर्मित चितवन जिल्ला पार्टी कार्यालय बिक्री गर्न लागिएको भन्दै शर्मा र हाल एमाओवादीमै रहेका केही जिल्ला नेताले आरोप लगाउँदै आएका थिए । तर, एमाओवादीको संस्थापन पक्षले भने सो आरोपमा सत्यता नभएको बताउँदै आएको छ ।

महासचिव थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी नेतृत्वविरुद्ध अनर्गल आक्षेप लगाएको र मर्यादाविपरीत तथा अनुशासनहीन काम गरेकाले शर्मालाई अनिश्चितकालका लागि सम्बन्धित कामको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।”

तर, सचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय सदस्य शर्मामाथि अनुशासनहीनको आरोप लगाउँदै महसचिव थापाले कारबाहीका नाममा निकालेको वक्तव्य कुनै कमिटीको निर्णय नभएको जिकिर गरेका छन् । पार्टी पद्धति विपरीत भएकाले भन्दै चन्दले निर्णयप्रति असहमति रहेको जानकारी समेत गराएका छन् ।