काठमाडौँ, २३ भदौ । व्यवस्थापिका–संसद्को सार्वजनिक सुनुवाइ विशेष समितिले सरकारले विभिन्न मुलुकका लागि प्रस्तावित गरेका राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्न सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
समितिले केही दिनभित्रै सार्वजनिक सूचना प्रकाशित गरेर प्रस्तावित राजदूतको विषयमा उजुरी माग्ने निर्णय गरेको हो । सरकारले यही भदौ १९ गते विभिन्न छवटा मुलुकमा परराष्ट्र मन्त्रालयका सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यसरी सिफारिस हुनेमा सहसचिव खगनाथ अधिकारीलाई थाइल्यान्ड, श्रीमती अम्बिकादेवी लुईंटेललाई फ्रान्स, कालीप्रसाद पोखरेललाई क्यानडा, यज्ञबहादुर हमाललाई कुवेत, संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका निम्ति जेनेभास्थित स्थायी नेपाली नियोगमा दीपक धिताल र अमृतबहादुर राईलाई दक्षिण अफ्रिकाका लागि राजदूतका लागि सिफारिस गरिएको छ ।
सरकारको यस सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । रासस
















प्रतिक्रिया