३ कार्तिक २०८३, मंगलबार

स्वरोजगार कोषको रकम खर्च गरेर विदेशमा रोजगारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidasaike-rojgarइलाम, २३ भदौ । युवालाई स्वरोजगार बनाउन प्रदान गरिएको रकमबाट फिक्कलका युवा बिदेसिएको रहस्य खुलेको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले फिक्कलस्थित पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थालाई ५० लाख ऋण प्रदान गरेको थियो ।

युवालाई व्यवसाय सञ्चालनमार्फत स्वरोजगार बनाउन संस्थाले ७० जनालाई ५० हजार रुपियाँका दरले ऋण प्रदान गरेको थियो ।

‘सहकारी संस्थाबाट ऋण लिएर सात जना विदेश गएको पाइयो’, कोषका जिल्ला सदस्यसचिव हरि मैनालीले भन्नुभयो, ‘व्यवसाय गर्छु भनेर ऋण लिएर विदेश जानु त भएन नि ।’

ऋण लिएर यहाँका सातजना युवा मलेसिया, कतार, साउदी अरबलगायत मुलुकमा गएका छन् । उहाँले भन्नुभयो, ‘विदेश नजानु भन्ने हाम्रो भनाइ होइन तर कोषबाट व्यवसाय गर्न भनेर ऋण लिएकाले विदेश जान मिल्दैन ।’

सरकारले युवा तथा साना व्यवसायीलाई स्वरोजगार बनाउने उद्देश्यका साथ सहुलियतमा ऋण प्रदान गरेको थियो ।

विदेश जानुपरे कर्जा फिर्ता गर्नुपर्ने प्रावधान छ । तर, त्यसविपरीत कोषको ऋण फिर्ता नगरी विदेश गएकाले कारबाही अगाडि बढाइने स्वरोजगार कोषले जनाएको छ । रकम फिर्ता नगरी विदेश जाने युवालाई नेपाल सरकारबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा उपलब्ध नगराउनेसम्मका कारबाही हुने कोषले जनाएको छ ।

सहकारी संस्थाबाट ६ लाख ऋण लिएर बंगुरपालन व्यवसाय सुरु गरेका चार जना युवाको व्यवसाय धरापमा परेको छ । मैनालीले भन्नुभयो, ‘अनुगमनका क्रममा जाँदा खोरमात्र छ, बङ्गुर पनि तीन÷चारवटा मात्र । त्यही पनि बाँच्ने स्थितिमा छैनन् ।’

ऋण मात्र लिएर व्यवसायप्रति चासो नदिएकाले यस्तो स्थिति आएको उहाँ बताउनुहुन्छ । कोषले सहकारी संस्थामार्फत सहकारी संस्थामा आबद्ध ७९ जनालाई व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गरेको थियो । रासस