काठमाडौं, ३० मंसिर । भाषा आयोग आज वुधबारबाट भाडाको भवनमा सरेको छ । गत भदौमा गठित भाषा आयोगले अब द्रुत गतिमा आफ्नो काम सुरु गर्ने छ ।
काठमाडौँ महानगरपालिका–३४, शङ्खमूल क्षेत्रको बागमति करिडोरमा पर्ने बागमति मनहरा दोभान पुल नजिकै भाडाको भवनमा आयोग सरेको हो ।
वैदिक विधिअनुरुप पूजा गरी भवनमा सरेपछि आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भवन नभएका कारण काम गर्न निकै अप्ठेरो भइरहेको स्मरण गर्दै भन्नुभयो, “भवन नभएकाले संस्कृति मन्त्रालयमा काम चलाइरहेका थियौँ । अलग भवन प्राप्त भएपछि काम गर्न सहज वातावरण तयार हुनेछ । यसबाट नेपालको संविधानले दिइएको जिम्मेवारी पूरा गर्न आयोगलाई सजिलो हुनेछ ।” आयोग अझैसम्म सदस्यविहीन छ ।
निजामति सेवाका केही कर्मचारीहरु काजमा ल्याइएको छ । आयोगका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्न थप केही समय लाग्ने बताइएको छ ।
संविधानले सरकारी कामकाजको भाषाका रुपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधारहरुको निर्धाण गरी नेपाल सरकार समक्ष भाषाको सिफारिस गर्ने, भाषाहरुको संरक्षण, संवद्र्धन र विकासका लागि अबलम्बन उपायहरुको नेपाल सरकारसमक्ष सिफारिस गर्ने, मातृभाषाहरुको विकासको स्तरमापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताका बारेमा नेपाल सरकार समक्ष सुझाव पेश गर्ने र भाषाहरुको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने जिम्मेवारी भाषा आयोगलाई तोकेको छ । गठन भएको पाँच वर्षभित्र आयोगले तोकिएका कार्य सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ भने अध्यक्ष र सदस्यहरुको पदावधि छ वर्षको हुने प्रावधान छ ।
आयोगका उपसचिव गणेशप्रसाद भट्टराईले विभिन्न भाषाका विशेषज्ञ समूह गठन गरी आयोगले कार्य अगाडि बढाउने तयारी गरेको बताउनुभयो ।












प्रतिक्रिया