चितवन, २८ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई संवैधानिक सङ्कटबाट बचाउन तोकिएकै समयमा तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपालको २२ औँ राष्ट्रिय साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकार तथा राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुट्नुपर्ने बेलामा संविधान कार्यान्वयनमै असमझदारी बढ्नु दुःखद् हो भन्नुभयो ।
उहाँले संविधान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टि, असमझदारीलाई संवाद, सहमति र सहकार्यको माध्यमबाट हटाउँदै अहिलेको हाम्रो राष्ट्रिय कार्यभार संविधानको कार्यान्वयनमा एकताबद्ध भएर जुट्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।
उपराष्ट्रपति पुनले थप्नुभयो, “मलाई विश्वास छ, छिट्टै निर्णायक संवाद बढाएर संविधान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टि, असमझदारीहरूलाई कम गर्दै दलहरू संविधानको कार्यान्वयन र निर्वाचनको तयारीमा जुट्नेछन् ।”
संविधान कार्यान्वयन, बलियो राष्ट्रिय एकता निर्माण र समृद्ध राष्ट्र निर्माणको कामलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउँदै उहाँले यसमा हामी कसैलाई पनि ढिला गर्ने छुट छैन भन्नुभयो ।
राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्न राष्ट्रिय एकतालाई बलियो बनाउन जरुरी भएको भन्दै उहाँले जबसम्म यहाँ कोही नागरिकले राज्य वा अरु कसैबाट उत्पीडनमा परेको, विभेद भएको र हेपिएको महसुस गर्छ तबसम्म राष्ट्रिय एकता बलियो हुन नसक्ने बताउनुभयो । रासस












प्रतिक्रिया