काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको छ । र, स्थानीय चुनावको मिति छिट्टै घोषणा गर्न तीनै नेता सहमत हुनुभएको छ ।
उहाँहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा अहिले फिर्ता नहुने जनाउनुभयो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिनुभयो ।
‘निर्वाचन सम्बन्धी आवश्यक कानुन बनाएर निर्वाचन मिति घोषणा गर्नेबारे सकारात्मक छलफल भयो,’ उहाँले भन्नुभयो- ‘सकेसम्म चाँडै निर्वाचन गर्नुपर्छ भन्नेमा दुईमत छैन, त्यसैले निर्वाचनबारे थप छलफल हुनेछ ।’ रासस












प्रतिक्रिया