
बागलुङ, २७ मंसिर । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिडेटका अध्यक्ष मनकुमारी केसीले सहकारी मार्फत सञ्चारको संस्थागत विकासमा आदर्श सञ्चार सहकारीको भूमिका प्रभावकारी रहेको बताउनु भएको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष समेत रहेकी केसीले अलमलिरहेको सञ्चार क्षेत्रलाई संस्थागत रुपमा सञ्चालन गर्नका लागि आदर्श सञ्चारले लिएको बाटो सबैका लागि अनुकरणीय भएको बताउनु भयो ।

आदर्श सञ्चार सहकारी संस्थाको ११ औं स्थापना दिवसका अवसरमा सोमबार नयाँ शेयर सदस्यहरुका लागि आयोजित सहकारी सचेतना कार्यक्रममा बोल्दै केसीले यस्तो बताउनु भएको हो । हाम्रो जस्तो देशको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि सहकारी उपयुक्त माध्यम भएको दावी गर्दै उहाँले सेवा क्षेत्रमा सहकारीको योगदान बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सहजीकरण गर्दै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रको प्रवद्र्धन बिना मुलुकको दीगो आर्थिक विकास र सामाजिक रुपान्तरण संभव नभएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार डिलबहादुर केसी, सुनगाभा वचत तथा ऋण सहकारी संस्स्था तंग्रामका अध्यक्ष गिर बहादुर पुन, हिम शिखर नारी वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सावित्रा राना लगायतले आदर्श सञ्चारले सञ्चार र समग्र सहकारी अभियानको प्रवद्र्धनमा खेलेको भूमिका उल्लेख्य रहेको बताउनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत र सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०६३ मंसिर २७ गते ३२ जना शेयर सदस्यको ३ लाख २० हजार रुपैया शेयर संकलन गरी शुरु भएको आदर्श सञ्चार सहकारी संस्थामा हाल ९ सय ५० जना शेयर सदस्य, साढे २ करोड शेयर रकम, ७ करोड निक्षेप र १० करोड लगानी रहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिनु भयो ।
धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित भई धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनसंगै वचत तथा ऋणको कारोबार गर्नुका साथै सामाजिक क्रियाकलापमा समेत आदर्श सञ्चार अग्रणी संस्थाका रुपमा रहेको छ ।
आफ्ना शेयर सदस्यहरुको आर्थिक, सामाजिक प्रगतिसंगै यस क्षेत्रको सहकारी अभियानलाई अगाडि बढाउन आदर्श सञ्चार सहकारीले अगुवाको भूमिका खेल्दै आएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।












प्रतिक्रिया