काठमाडौं, २७ मंसिर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसी मंगलवार मित्र राष्ट्र भारत प्रस्थान गर्दै छन् ।
नयाँदिल्लीमा मंसिर २९ देखि पुस १ गतेसम्म हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरूको सहरी विकास तथा आवाससम्बन्धि छैठौं मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री केसी मंगलवार बिहान १०ः३० बजे त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सहयोगी शिव देवकोटाले जानकारी दिए ।
सम्मेलनमा सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्मा र बरिष्ठ समाजशास्त्री पोष्टराज ढुंगानाको पनि सहभागिता रहनेछ ।
सम्मेलनलाई मन्त्री केसीले मंसिर २९ गते बुधवार सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालको तर्फबाट नेपालको आवास नीति, सहरीकरणको अवस्था, समस्या, चुनौती र नेपालले अपनाएको रणनीतिहरूका वारेमा सदस्य राष्ट्रहरूलाई जानकारी गराइनेछ ।
सम्मेलनले एशिया प्रशान्त क्षेत्रको सहरी विकास तथा आवाससम्बन्धी दिगो रणनीतिसहित नयाँदिल्ली घोषणापत्र जारी गर्ने बताइएको छ ।












प्रतिक्रिया