३० आश्विन २०८३, शुक्रबार

…जब विश्वविद्यालयका प्रमुख नै चोरी गर्छन्, अनि अरु ?

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोम खनाल

– सोम खनाल

नेपालको ध्वजाबाहक (फ्लागसिप) विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको गरिमा र इज्जतको लागि उपकुलपति तिर्थराज खनियाको राजिनामा समेतलाई माग बनाएर डा. गोबिन्द केसीले गरेको पछिल्लो चरणको अनसन सरकारसँग बिभिन्न सम्झौता गरी तोडिएको छ । तर कृति चोरी (प्लेजरिजम) जस्तो जघन्य दोष बोकेका तिर्थराज खनिया उपकुलपति पदमा कायमै छन् । यसै सन्दर्भमा डिसेम्बर ८ तारिख २०१६का दिन एउटा अनलाइनमा कनकमणि दिक्षितद्वारा “कृतिचोर नै उपकुलपति” शिर्षकको बिस्तृत आलेखमार्फत ‘कृतिचोरी गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने बहस’ पुनः अगाडि बढाइएकोमा त्यसै बहसलाई सघाउन यो लेख लेख्नु परेको हो ।

नेपालको सबैभन्दा पाको र ठूलो त्रिभुवन विश्वविद्यालयका बर्तमान उपकुलपति तिर्थराज खनियाले सन् २००६ मा एउटा जर्नलमा आफ्नो नाममा छपाएको भनिएको लेख फेरिट किलिच्काया नाम गरेका तुर्कीका प्रध्यापकले सन् २००४ मै लेखिसकेका रहेछन् । दुई बर्ष अघि नै अर्कै ब्यक्तिले लेखेर छपाएको लेखलाई अधिकांशतः हुबहु उतार गरी तिर्थराज खनियाले आफ्नो नाममा छपाएर गरेको दुस्साहस आखिर दुनियाको नजरमा छिप्न सकेन । तर आफूले अर्काको कृति चोरी गरेको अकाट्य प्रमाण प्रस्तुत भएको दुई बर्ष बितिसक्दा पनि खनियालाई कुनै फरक परेको देखिदैन । उनी पदमा कायम छन् ।

कृति चोरीलाई विश्वभर नै बौद्दिक अपराधको रुपमा लिइन्छ । विश्वविद्यालयमा बिद्यार्थीले अर्काको कृति चोरी गरेको पाइएमा त्यस्ता बिद्यार्थीलाई सम्बन्धित प्राध्यापकले आवश्यक कारबाही गर्नुपर्छ भने प्राध्यापकले कृतिचोरी गरेको खण्डमा विश्वविद्यालय प्रशासनले त्यस्ता प्राध्यापकलाई कारबाही गर्नु पर्छ । नेपालको हकमा विश्वविद्यालय प्रशासन उपकुलपतिको अधिनमा रहने हुँदा तिर्थराज खनिया स्वयम् त्रिविमा हुने कृति चोरी नियन्त्रण गर्ने निकायका मुख्य ब्यक्ति पनि हुन् । तसर्थः तिर्थराज खनिया मुख्य ब्यक्ति आफै कृति चोर प्रमाणित भइसकेपछि उनी उपकुलपति रहुन्जेल त्रिबिले त्यस्तो कृतिचोरी नियन्त्रण गर्ने नैतिक र ब्यबहारिक हैसियत गुमाएको मान्नुपर्ने हुन्छ । उनी थेत्तरा भएर उपकुलपतिको आसनमा रहुन्जेल त्रिबिमा कृतिचोरी घट्ने छैन, अझ बढ्ने छ । त्यसैले उनी त्यो पदको लागि लायक रहेनछन्, उनले राजीनामा दिऊन् ।

नेपालमा बिद्यार्थीहरूलाई कृतिचोरीको बारेमा राम्रो जानकारी दिने गरेको पाइदैन । परिक्षाका प्रश्नपत्रमा ‘कण्ठ गरेको वा हुबहु सारेको हुनु हुँदैन’ भन्ने सामान्य औपचारिकता बाहेक कृतिचोरी नियन्त्रण गर्ने कुनै ठोस प्रयास पनि भएको देखिदैन । बरू प्रश्नपत्रका मोडेल, नाना थरीका नोट र गेस पेपरको चलनलाई मलजल गरेर गहन अध्ययन बेगर सर्टकटमा पढेर जसोतसो डिग्री हासिल गर्ने परिपाटीलाई हाम्रा विश्वविद्यालय र त्यहाँ अध्यापन गर्ने प्राध्यापकले नै टेवा दिइरहेका छन् । त्यसमाथि परिक्षामा चीट चोर्ने प्रचलन त हाम्रो रगतमै छ। यस्ता कारणले गर्दा नेपालमा कृतिचोरी जस्तो गम्भिर अपराधलाई केही पनि होइन कि जस्तो गरि लिइन्छ ।

कृतिचोरीका कारण ठूला ठूला मानिसहरूले महत्वपूर्ण मूल्य चुकाउनु परेका उदाहरणहरू विश्वमा धेरै पाइन्छन् । अमेरिकाका बर्तमान उपराष्ट्रपति जो बाइडेनले सन् १९८८ को राष्ट्रपतिय चुनाबका लागि डेकोक्रेटिक दलको तर्फबाट उमेद्वारी दिए । त्यो बेला ४५ बर्षका आकर्षक र प्रभाबशाली युवा सिनेटर बाइडेनलाई अमेरिकीहरूले सम्भाबित राष्ट्रपतिको रुपमा हेर्न थालिसकेका थिए । तर उमेद्वारी घोषणा गर्दा उनले दिएको अति नै प्रभाबशाली भाषण निल किन्नक नामक बेलायती राजनितिज्ञले ४ महिना अघि नै दिएको भाषणसँग अधिकांश मिल्न गएको पत्ता लाग्यो, बाइडेन भाषण चोर ठहरिए र आखिरमा घोषणा गरेको ४ महिनामै उनी उमेद्वारी फिर्ता लिन बाध्य भए (श्रोतः न्यूयोर्क टाइम्स समाचार १९८७ सेप्टेम्बर १८) ।

सन २०१२ मा हंगेरीका राष्ट्रपति पाल स्मिटले २० बर्ष अघि विश्वविद्यालय पढ्दा लेखेको सोधपत्र अधिकांश रुपमा कपी गरेर तयार गरिएको तथ्य पत्ता लागेपछि विश्वविद्यालयले उनको डिग्री रद्द गरिदियो र उनी राजिनामा गर्न बाध्य भए (श्रोतः न्यूयोर्क टाइम्स समाचार २०१२ अप्रिल २) । सन् २०१२ मै रोमानियाका प्रधानमन्त्री भिक्टर पोण्टालाई पनि ९ बर्ष अघि विद्यावारिधी गर्दा लेखेको सोधकार्यमा कृतिचोरी गरेको आरोप लाग्यो, उनले जतिनै जित्न खोजे पनि आरोप प्रमाणित भयो । र, उनले विद्यावारिधीको उपाधि उपाधी फिर्ता गरे (श्रोतः wgntv.com, २०१६ जुलाइ १९) । सन् २०१३ मा एनेट साभन नामकी जर्मन शिक्षा मन्त्रीले ३३ बर्ष अघि थेसीस लेख्दा अरूका लेखहरू हुबहु उतारेको प्रमाणित भयो, उनले पनि राजिनामा नै दिनु पर्यो (श्रोतः बिबिसी समाचार, २०१३ फेब्रुअरी ९) । त्यस अघि सन् २०११ मा जर्मनीकै रक्षा सचीब कार्ल गुटनबर्गले पनि बिद्यावारिधीको सोध लेख्दा गरेको बौद्यिक चोरीको कारण पद, डिग्री, र आफ्नो सम्भावनायुक्त भबिष्य सबै गुमाउनु परेको थियो (श्रोतः द गार्जियन समाचार, २०११, मार्च १) । कृतिचोरीकै अभियोग खेपिरहेका एरिजोना स्टेट विश्वविद्यालयका प्रभाबशाली अश्वेत प्राध्यापक म्याथ्यु व्हीटेकरले अन्ततः राजीनामा दिने घोषणा गरेका छन्, यद्यपी उनको राजिनामा २०१७ बाट लागू हुनेछ (श्रोतः फिनिक्स न्यूज, २०१६, जनवरी १) ।

कृतिचोरी गम्भिर कुरा रहेछ भन्ने थाहा पाइसकेपघि अरूका कृतिहरूलाई के कसरी प्रयोग गर्दा कृतिचोरी ठहर्न सक्छ भन्ने बारेमा सचेत हुन जरुरी छ । अरूले लेखेका कुराहरूलाई हुबहु कपी/पेष्ट गरेर कोष्टभित्र श्रोत खुलाइदिएपछि कृतिचोरीको बात लाग्दैन भन्ने धेरैले सोचेका हुन सक्छन् । तर यो सोचाइ बिक्कुलै सहि होइन । अरुले लेखेका कुरा हुबहु सार्ने त कुरै छाडौं, उही कुरालाई घुमाउरो पारामा (Paraphrasing) लेख्दा पनि कृतिचोरीको अभियोगबाट मुक्ति पाउन सकिँदैन । कृतिचोरीको बात लाग्नबाट बच्नलाई अरुले लेखेका कुरा पढेर मनन गरि आफ्नै मौलिक शैलीमा लेखेर अनि कोष्टभित्र श्रोत खुलाइदिनु पर्छ र कतिपय अवस्थामा पछि सन्दर्भ सामाग्रीमा पनि श्रोतको बिबरण दिनु पर्छ । तालिकाहरुको हकमा तथ्य वा अंकहरू फरक नपर्नेगरि मौलिक ढांचाको तालिका बनाई श्रोत खुलाउनुपर्ने हुन्छ । चित्र तथा श्रब्यदृष्य सामाग्री जस्ता कुराहरु प्रकाशकको अनुमति लिएर अनि मात्र श्रोतसहित साभार गर्नु पर्ने हुन्छ ।

फुलब्राइट छात्रबृत्तिमा छानिएर अध्ययनको लागि अमेरिका आउनुअघि यो पंक्तिकारलाई नेपालमा अबस्थित छात्रबृत्तिको कार्यालयले कृतिचोरीको गाम्भिर्यताको बारेमा केही वताएको थियो । पछि स्नातकोत्तरको सोधपत्रको सैद्दान्तिक अध्यायलाई अमेरिकी दुग्ध निर्यात परिषदले पुस्तिकाको रुपमा छाप्ने अभिप्राय देखाउँदा सो सोधपत्रको कुनै अंश पहिल्यै प्रकाशित कृतिहरूसंग संयोगबस मिल्न जाला कि भनेर बहुतै छटपटि भएको थियो । त्यस्तो छटपटीको निदानको लागि प्राध्यापकको सहयोगमा टर्नइटइन  (turnitin.com) नामक सफ्टवेरबाट लेखाइको समानता परिक्षण गर्दा पहिल्यै प्रकाशित तमाम कृतिहरूसंग १३ प्रतिशत मात्र मिल्न गएको र सामान्यत अधिकतम २५ प्रतिशत समानतासम्म स्वीकार्य मानिने हुंदा ढुक्क भयो । भन्नुको मतलब कृतिचोरी भए नभएको जांच्ने संयन्त्रहरू इन्टरनेटमा उपलब्ध छन्, तर शुल्क लाग्न सक्छ । बिकसित देशका विश्वविद्यालयहरूमा प्राध्यापकहरूलाई त्यस्ता संयन्त्रहरू निशुल्क उपलब्ध गराइएको हुन्छ र उनीहरूले विद्यार्थीका सामान्य गृहकार्य जांच्न समेत त्यस्ता संयन्त्रहरूको प्रयोग गर्न सक्दछन् । एकपल्ट यो पंक्तिकारसंगै डेरा गरि बस्ने भुटानी (नेपालीभाषी, शरणार्थी) बिद्यार्थीले अंग्रेजी बिषयको गृहकार्य स्वरूप एउटा निबन्ध कतै इन्टरनेटबाट कपी गरेर बुझाएछन् । तर भोलिपल्ट प्राध्यापकले कुन सामाग्रीबाट के कति अंश कपी गरेको हो सोको काटिकुटी बिबरण सहित फिर्ता गर्दै आइन्दा त्यसो गरेमा स्वतः फेल हुने चेतावनी दिएर पठाएछन् । तत्पश्वात ती बिद्यार्थीले कृतिचोरीको कुरा गर्दा मात्र पनि डर मान्ने गर्थे ।

नियन्त्रण कसरी गर्ने ?

नेपालमा कृति चोरीको नियन्त्रण सहज त छैन, तर असम्भब पनि छैन । कृति चोरीलाई निर्मुल गर्न चोरेर भएपनि पास गर्नु पर्छ वा बढी अंक ल्याउनु पर्छ भन्ने मान्यतामा बदलाब आउनु जरुरी छ, जुन तत्काल सम्भव देखिदैन । तर कृति चोरीलाई विश्वविद्यालय स्तरमा आधारभुत रुपमै निरुत्साहित गर्नका लागि प्रश्नपत्रका मोडेल, नोट, गाइड, गेसपेपर आदिका प्रकाशन र बिक्री बितरणलाई गैह्रकानुनी घोषित गरि बन्देज लगाउन सक्नु पर्दछ। कृतिचोरी गरेको प्रमाणित भएमा त्यस्ता बिद्यार्थीहरुलाई सम्बन्धित बिषयको परिक्षाका लागि अयोग्य घोषणा गर्ने ब्यबस्था हुनु जरुरी छ । कुनै प्राध्यापकले कृतिचोरी गरेको पाइएमा उनीहरु स्वतः अयोग्य हुने ब्यबस्था गर्नु पर्दछ । बिश्वबिद्यालयस्तरमा लेखिने सबै सोधपत्रहरूका विद्युतीय प्रतिलाई डाटाबेसमा अभिलेख राखेर हरेक नयां थेसिसहरुलाई कृतिचोरी समात्ने सफ्टवेरको मद्दतले परिक्षण गर्ने ब्यबस्था गर्नु जरुरी छ । इन्टरनेटमा  grammarly.com,  smallseotools.com, plagiarisma.net, turnitin.com  लगायतका कृतिचोरी समात्ने सफ्टवेरहरू पाइन्छन्, जसको उपयोग गर्न विश्वविद्यालयहरूले आबश्यक ब्यबस्था गर्नु पर्दछ ।

कृतिचोरी असामान्य र अक्षम्य बौदिक हर्कत हो । आजको विश्वव्यापीकरणको यूगमा नेपालमा उत्पादित मानवसंसाधनहरू विश्वबजारमा प्रतिस्पर्धा गर्न गइरहेका छन् । तर कृतिचोरी जस्तो अपराधबाट हामीले हाम्रा शैक्षिक वा प्राज्ञिक उत्पादनहरूलाई जोगाउन सकेनौँ भने भोलि उनीहरूलाई जुनबेला पनि धोका हुन सक्छ र नेपालको शैक्षिक स्वीकार्यतामै त्यसले नराम्रो असर पार्न सक्छ । त्यसैले कृतिचोरीको नियन्त्रणको प्रयास हाम्रा विश्वविद्यालयहरुले शुरु गरिहाल्नु जरुरी छ । त्रिभुवन विश्वविद्यालयको हकमा कृतिचोर प्रमाणित भइसकेका उपकुलपति तीर्थराज खनियाको राजिनामा र सो पदमा योग्य र कुशल प्राज्ञिक ब्यक्तिको नियुक्ति त्यस्तो प्रयासका लागि प्रस्थानबिन्दु हुन सक्दछ ।

(लेखक अमेरिकाको युनिभर्षिटी अफ वीस्कनसीन, म्याडिसनमा बिद्याबारिधी अध्ययनरत छन् ।)